१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुनः सुरु, नेपालको असहमति कायमै



काठमाडौं । भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक रूपमा पुनः सुरु गरेका छन्। कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको व्यापार भारतको उत्तराखण्डस्थित लिपुलेक र हिमाचल प्रदेशको शिप्की–ला नाकाबाट पुनः सञ्चालनमा आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

लिपुलेक नाकाबाट पहिलो चरणमा १६ जना भारतीय व्यापारी र चार जना सहयोगी तिब्बत प्रवेश गरेका छन्। यसैगरी, हिमाचल प्रदेशको शिप्की–ला नाकाबाट पनि पहिलो समूहका भारतीय व्यापारी तिब्बततर्फ प्रस्थान गरेका छन्।

भारत र चीनले यसअघि जुन १ देखि सीमा व्यापार पुनः सञ्चालन गर्ने सहमति गरेका थिए। तर आवश्यक पूर्वाधार तथा प्रशासनिक तयारी पूरा नभएको भन्दै निर्धारित मितिमा व्यापार सुरु हुन सकेको थिएन।

नेपालको असहमति कायमै

लिपुलेकलाई नेपालले आफ्नो सार्वभौम भूभाग भएको दाबी गर्दै आएको छ। भारत र चीनले नेपालको सहमति वा सहभागिताबिना लिपुलेक हुँदै व्यापार पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असहमति जनाउँदै आएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले यसअघि जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा नेपाललाई समावेश नगरी कुनै निर्णय वा गतिविधि गर्नु स्वीकार्य नहुने स्पष्ट पारेको थियो।

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो अभिन्न भूभाग भएको दाबी गर्दै आएको छ। भारतले भने लिपुलेक उत्तराखण्डको पिथौरागढ जिल्लाअन्तर्गत पर्ने आफ्नो भूभाग भएको बताउँदै आएको छ।

सीमा व्यापार पुनः सुरु भएको विषयमा नेपाल सरकारको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। तर परराष्ट्र मन्त्रालयका एक अधिकारीले यसलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्।

‘यो गम्भीर विषय हो। यस विषयमा सरकारले आफ्नो च्यानलमार्फत सम्बन्धित ठाउँमा कुरा राख्छ,’ ती अधिकारीले भने।

२०१५ को सहमतिपछि निरन्तर विवाद

भारत र चीनले सन् २०१५ मा लिपुलेक हुँदै व्यापार तथा आवागमन विस्तार गर्ने सहमति गरेपछि नेपालले त्यसप्रति औपचारिक विरोध जनाएको थियो।

त्यसपछि सन् २०२० मा भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेपछि नेपाल–भारत सम्बन्धमा थप तनाव उत्पन्न भएको थियो। सोही वर्ष नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

लिपुलेक हुँदै भारत र चीनबीचको सीमा व्यापार सन् १९९२ देखि सञ्चालन हुँदै आएको बताइन्छ। कोभिड–१९ महामारीका कारण सन् २०२० मा बन्द भएको व्यापार अहिले पुनः सञ्चालनमा आएको हो।

लिपुलेकबाट पहिलो चरणमा २० जना तिब्बत प्रवेश

उत्तराखण्डको पिथौरागढ जिल्लास्थित लिपुलेक नाकाबाट पहिलो चरणमा १६ जना व्यापारी र चार जना सहयोगी व्यापारिक सामानबिनै तिब्बत प्रवेश गरेका छन्।

चिनियाँ पक्षले तक्लाकोट व्यापार केन्द्रमा पूर्वाधार सीमित रहेको जनाउँदै पहिलो चरणमा २० जनालाई मात्र प्रवेश अनुमति दिएको थियो। त्यसका लागि व्यापारीहरूको विस्तृत व्यक्तिगत विवरण अग्रिम रूपमा उपलब्ध गराउन तथा सन् २०१९ को अन्तिम व्यापारिक सिजनमा सहभागी भएका व्यापारीलाई प्राथमिकता दिन आग्रह गरिएको थियो।

सोहीअनुसार व्यापारीहरूको संगठनले सन् २०१९ मा व्यापार गरेका तथा सन् २०२० मा व्यापार बन्द हुँदा तक्लाकोटमा सामान अड्किएका व्यापारीलाई पहिलो प्राथमिकतामा राखेको थियो।

धार्चुलाका उपजिल्ला अधिकारी तथा जिल्ला व्यापार अधिकारी आशिष जोशीका अनुसार यस व्यापारिक सिजनका लागि हालसम्म ६२ व्यापारी र ९३ सहयोगीसहित १५५ वटा व्यापार पास जारी गरिएको छ। थप व्यापारीलाई अनुमति दिन भारतीय प्रशासनले चिनियाँ पक्षसँग अनुरोध गरिसकेको छ।

शिप्की–ला हुँदै पनि व्यापार सुरु

यसैबीच हिमाचल प्रदेशको शिप्की–ला दर्राबाट पनि भारत–चीन सीमा व्यापार पुनः सुरु भएको छ। प्रदेशका राजस्वमन्त्री जगत सिंह नेगीले पहिलो चरणका १६ जना भारतीय व्यापारीलाई तिब्बततर्फ बिदाइ गरेका छन्।

व्यापारीहरू घोडामार्फत समुद्री सतहबाट ३ हजार ९३० मिटर उचाइमा रहेको शिप्की–ला दर्रा पार गरेर तिब्बतको शिप्की गाउँतर्फ गएका छन्।

शिप्की–ला हुँदै हुने व्यापार नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ। यो परम्परागत वस्तु विनिमय अर्थात् बार्टर प्रणालीमा आधारित हुनेछ। भारतीय व्यापारीले चिनियाँ सीमाभित्र ७२ घण्टासम्म बस्न पाउनेछन्।

भारतीय गृह मन्त्रालयले पृष्ठभूमि जाँचपछि ५३ जना व्यापारीलाई व्यापारका लागि अनुमति दिएको छ।

कुन–कुन वस्तुको कारोबार हुन्छ?

भारतीय व्यापारीलाई चिनियाँ सीमातर्फ ३६ प्रकारका वस्तु लैजान अनुमति दिइएको छ। यसमा सुक्खा फलफूल, मसला, हस्तकला सामग्री र जडीबुटीलगायत वस्तु छन्।

त्यस्तै, चिनियाँ व्यापारीले भारततर्फ पस्मिना, ऊन, याकको रौँ, भेडा तथा बाख्राको छाला र चाइना क्लेजस्ता २० प्रकारका वस्तु ल्याउन पाउनेछन्।

अधिकारीहरूका अनुसार भारतीय पक्षबाट व्यापार गर्न मिल्ने वस्तुको कुल सूची ७२ प्रकार र चिनियाँ पक्षबाट ल्याउन मिल्ने वस्तुको सूची ३० प्रकारको रहेको छ।

भारत–चीनबीच परम्परागत सीमा व्यापार पुनः सञ्चालन भए पनि लिपुलेकलाई लिएर नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको दाबी तथा भारत र चीनको गतिविधिबीचको विवाद भने कायमै छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ९ : ३० बजे