१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

तराई–मधेशको अवस्थाबारे गृहमन्त्रीको प्रधानमन्त्रीलाई ब्रिफिङ, ‘ठोस सम्झौता भएको छैन’



काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा भएका पछिल्ला घटनाबारे गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई ब्रिफिङ गरेका छन्। सरकारले भने घटनाका सन्दर्भमा गृहमन्त्रीले कुनै विशेष वा ठोस सम्झौता नगरेको स्पष्ट पारेको छ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर गृहमन्त्री गुरुङले प्रधानमन्त्री शाहलाई तराई–मधेशको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्रीले करिब २५ मिनेट प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए।

ब्रिफिङका क्रममा तराई–मधेशको अवस्था संवेदनशील रहेको र घटनापछि उत्पन्न परिस्थितिबारे गृहमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराएको जनाइएको छ।

यसअघि गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेका थिए। मृतकका परिवार तथा विभिन्न सरोकारवालासँग भेटघाट गरी उनले घटनाको अवस्था र समस्या समाधानका सम्भावित उपायबारे छलफल गरेका थिए।

तर, गृहमन्त्रीले विभिन्न पक्षसँग भेटघाटका क्रममा गरेको छलफललाई लिएर कुनै विशेष सम्झौता भएको भन्ने बुझाइ सही नभएको सरकारले स्पष्ट पारेको छ।

मंगलबार सञ्चारकर्मीसँगको भेटघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्रीले प्रभावित क्षेत्रका विभिन्न सरोकारवालासँग भेटेर वस्तुस्थितिबारे जानकारी लिएको र समस्या समाधानका लागि आवश्यक परे संवाद गर्न सरकार तयार रहेको सन्देश मात्र दिएको बताए।

पूर्वी तराईका जिल्लाको भ्रमणका क्रममा गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना तथा आन्दोलनका पीडित पक्षसँग भेटघाट र छलफल गरेका थिए। सोही क्रममा भएका भनिएका सहमतिबारे प्रष्टीकरण दिँदै मन्त्री पोखरेलले कुनै विशेष बुँदामा आधारित भएर प्रश्न उठे त्यसको विस्तृत र आधिकारिक जानकारी गृहमन्त्री स्वयंले दिने बताए।

‘गृहमन्त्रीज्यूले विभिन्न स्टेकहोल्डरसँग भेट्नुभयो। उहाँले त्यहाँ बसेर कुराकानी पनि गर्नुभयो। तत्कालका लागि विभिन्न विषयमा छलफल गर्न आवश्यक भए छलफल गर्न सकिन्छ भन्ने खालको मात्र उहाँले गर्नुभएको हो,’ पोखरेलले भने।

उनले सरकारका तर्फबाट कुनै एउटा विषयमा सकारात्मक वा नकारात्मक हुने गरी सम्झौता नभएको स्पष्ट पारे।

‘सरकारको तर्फबाट त्यस्तो कुनै एउटा विषयवस्तुमा पोजेटिभ–नेगेटिभ हुनेगरी सम्झौता भएको छैन,’ उनले भने।

सुनसरीबाट सुरु भएको विवाद अन्य जिल्लामा फैलियो

सुनसरीको कप्तानगन्जमा साउन ९ गते दुई समूहबीच विवाद उत्पन्न भएपछि अवस्था तनावपूर्ण बनेको थियो। विवादले झडपको रूप लिएपछि सुरक्षाकर्मीले गोली चलाएका थिए।

गोली लागेर स्थानीय २१ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय जयप्रकाश मेहता र २१ वर्षीय रवीन्द्रकुमार मेहताको पनि पछि मृत्यु भएको थियो।

कप्तानगन्जमा युवकको मृत्यु भएपछि विवाद थप चर्किँदै जाँदा सिरहा, धनुषालगायतका जिल्लामा समेत झडपका घटना भएका थिए। सिरहाको गोलबजारमा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएको थियो।

घटनापछि प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा मृतकका परिवारसँग सहमति र संवादका लागि गृहमन्त्री गुरुङ सुनसरी र सिरहा पुगेका थिए। उनले आसपासका क्षेत्रको समेत स्थलगत अवलोकन गरेका थिए।

तराई–मधेशको भ्रमण सकेर फर्किएपछि उनले प्रधानमन्त्रीलाई घटनाको पछिल्लो अवस्था, स्थानीय पक्षसँग भएको छलफल तथा शान्ति सुरक्षाको अवस्थाबारे ब्रिफिङ गरेका हुन्।

संवादको ढोका खुला, ठोस सहमति छैन

सरकारले हाल आन्दोलनरत पक्षका माग तथा समग्र शान्ति सुरक्षाको अवस्थाबारे संवादको ढोका खुला राखेको जनाएको छ। तर, कुनै ठोस माग वा मुद्दामा औपचारिक सहमति नभएको सरकारको अडान छ।

मन्त्री पोखरेलले सुनसरी तथा मधेस प्रदेशमा भएका घटनाबारे गठित छानबिन समितिको प्रतिवेदन आएपछि त्यसले औँल्याएका विषयका आधारमा आवश्यक काम–कारबाही अघि बढाइने बताए।

यससँगै सरकार एकातिर घटनाबाट उत्पन्न तनाव समाधानका लागि संवादको बाटो खुला राख्ने र अर्कोतर्फ छानबिन समितिको प्रतिवेदनका आधारमा आगामी कदम चाल्ने तयारीमा रहेको देखिएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ९ : ४० बजे