२३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026

बजारमा ग्यास अभावको प्रश्नबीच प्रधानमन्त्री बालेनको दाबी: सार्वजनिक संस्थान र उद्योग सुध्रिँदैछन्



काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि सरकारमाथि चौतर्फी प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय उद्योग तथा संस्थानहरूमा उल्लेख्य सुधार भइरहेको दाबी गरेका छन्। प्रतिनिधिसभामा सत्तारूढ दलकै सांसदहरूले समेत ग्यास अभाव र सरकारको कार्यसम्पादनमाथि प्रश्न गरेपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घाटामा रहेका सरकारी संस्थानहरूको प्रगति विवरण सार्वजनिक गर्दै सुधारका प्रयासबारे जानकारी गराएका हुन्।

ग्यास आपूर्तिको तात्कालिक समस्याबारे सीधा सम्बोधन नगरे पनि प्रधानमन्त्री शाहले ‘ढिलो होला तर, गलत हुँदैन नआत्तिनुहोस्’ भन्दै विगतमा थलिएका राष्ट्रिय उद्योग तथा संस्थानहरूलाई पुनः जीवन्त बनाउने काम भइरहेको बताएका छन्। उनका अनुसार लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले गत आर्थिक वर्षमा ३ करोड नाफा कमाएको र चालु वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखेको छ। शासकीय सुधारका प्रयासस्वरूप ३ वर्षभित्र ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्यअनुसार हाल ११ प्रकारका औषधि उत्पादन भइरहेका छन्।

यस्तै नेपाल वायुसेवा निगमको आर्थिक अवस्थामा सुधार आउँदा गत आर्थिक वर्षको अन्तिम चार महिनामा ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको र जहाज खरिदको १ अर्ब ६ करोड रुपैयाँ ऋण भुक्तानी गरिएको प्रधानमन्त्रीले जनाएका छन्। दुग्ध विकास संस्थान (डीडीसी) मा किसानको रोकिएको बक्यौता ७२ करोडबाट घटाएर ३५ करोडमा झारिएको छ भने कर्मचारीको अनावस्यक सुविधा कटौती गरी वार्षिक ३ करोड बचत गरिएको छ। उता सिंहदरबार वैद्यखानाको कारोबार अघिल्लो वर्षको तुलनामा चार गुणा बढेर १३ करोड पुगेको छ भने लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगमा नेपाली सेनामार्फत परीक्षण उत्पादन सुरु भइसकेको छ। बजारमा उपभोक्ता ग्यास अभावले सास्ती भोगिरहँदा प्रधानमन्त्री शाहले संस्थानहरूको तथ्याङ्क अघि सार्दै सरकार शासकीय सुधारको बाटोमा दृढ रहेको सन्देश दिन खोजेका छन्।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ११ : ५२ बजे