काठमाडौँ । उपचारका क्रममा विगत पाँच महिनादेखि विदेशमा रहेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आउँदो बिहीबार साउन २८ गते नेपाल फर्किने भएका छन्। यसअघि साउन २६ गते नै स्वदेश फर्कने कार्यक्रम तय भए पनि हङकङबाट थाइल्यान्डको राजधानी बैंकक पुगेपछि उनको आगमन दुई दिन पछि सरेको हो।
देउवा निकट नेताहरूका अनुसार उनी शुक्रबार हङकङबाट बैंकक पुगेका हुन् र अब थाइ एयरवेजको विमानमार्फत बिहीबार दिउँसो काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने तय भएको छ। अघिल्लो वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा आगजनी र साङ्घातिक आक्रमणमा परेपछि देउवा दम्पत्ति थप उपचारका लागि सिंगापुर गएका थिए। नेपाल फर्किएर ‘फलोअफ’का लागि गत फागुन १३ गते पुनः सिंगापुर पुगेका देउवा त्यहाँबाट पत्नी आरजु राणा देउवासँगै हङकङ गएर लामो समय बसेका थिए।
देउवा स्वदेश फर्किने भोलिपल्टै अर्थात् साउन २९ गते काठमाडौँमा कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको आयोजना गरेको छ। सोही भेलाका लागि देशैभरिबाट काठमाडौँ आइपुगेका नेता तथा कार्यकर्ताहरूलाई पूर्वप्रधानमन्त्री देउवाको स्वागतका लागि विमानस्थलमा उतार्ने तयारी भइरहेको छ।









