काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाल ल्याउने प्रयास असफल भएको छ । शव ल्याउन नसकिएपछि नेपाल पर्वतारोहण संघले पुर्जाको परिवारसँग क्षमायाचना गरेको छ ।
संघका महासचिव राजेन्द्रबहादुर लामाका अनुसार परिवारको चाहनाअनुसार बेलायतमा अन्तिम संस्कार गर्नुअघि केही घण्टाका लागि मात्रै भए पनि शव काठमाडौँ ल्याएर श्रद्धाञ्जली अर्पण गर्ने प्रयास गरिएको थियो । ‘संघमार्फत पत्राचार गरेर परराष्ट्रमन्त्रीलाई भेटी पुर्जाको शव इस्लामावादबाट काठमाडौँ ल्याएर केही घण्टा राखी बेलायत पठाउने पहल गरेका थियौँ,’ लामाले भने, ‘तर विभिन्न कूटनीतिक तथा प्राविधिक प्रयासका बाबजुद त्यो सम्भव हुन सकेन ।’
समय, उडान व्यवस्थापन र शव स्थानान्तरण प्रक्रियाका जटिलताका कारण काठमाडौँ, इस्लामावाद र बेलायतस्थित कूटनीतिक नियोगहरूमार्फत गरिएका प्रयास सफल हुन नसकेका हुन् ।
महासचिव लामाका अनुसार शनिबार राति इस्लामावादबाट उडानमार्फत पुर्जाको शव बेलायत लगिएको छ । पुर्जाको कम्पनी इलाइट एक्सपिडका अनुसार शव लिन उनका आफन्त तेजेन गुरुङ बेलायतबाट पाकिस्तान पुगेका थिए ।
संघका महासचिव लामाले जारी गरेको सन्देशमा भनिएको छ, ‘निर्मलजी, तपाईंलाई अत्यन्तै माया गर्ने मातृभूमि नेपाल फर्काउन हामीले हरसम्भव प्रयास गर्यौँ । तर हरेक प्रयास, हरेक खोजी, हरेक प्रार्थना र हरेक त्यागका बाबजुद पनि तपाईंको पार्थिव शरीर नेपाल ल्याउन सकेनौँ । निम्सदाइ, तपाईं र तपाईंको परिवारसँग हृदयदेखि क्षमा माग्दछु ।’
गत १४ साउनमा पाकिस्तानस्थित विश्वको १२औँ अग्लो (८,०४७ मिटर) ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली दुर्घटनामा परेको थियो। टोलीमा ६ नेपाली र पाकिस्तान, ओमान, अमेरिका तथा चीनका एक-एक जना आरोही थिए।
दुर्घटनामा ज्यान गुमाएका किलि पेम्बा शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार इस्लामावादबाट कतारको दोहा हुँदै नेपाल ल्याइँदै छ ।
आरोही पुरबहादुर गुरुङ ‘युक्त’को शव बिहीबार नेपाल ल्याएर शुक्रबार अन्त्येष्टि गरिसकिएको छ। नेपाली आरोही नवाङ थिन्डु शेर्पा र पाकिस्तानी आरोही सोहेल सखीको शव भने अझै फेला पर्न सकेको छैन।









