काठमाडौँ । सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच बढ्दो संशय र तिक्तताका समाचार आइरहेका बेला प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री शाहलाई भेट्न सभापति लामिछाने आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। दुई नेताबीच करिब ४५ मिनेट कुराकानी भएको छ।
प्रधानमन्त्री बालेनले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमार्फत आफू विभिन्न चुनौतीहरूसँग एक्लै लड्नुपरेको भनी दिएको अभिव्यक्तिप्रति सभापति लामिछाने असन्तुष्ट रहँदै आएका थिए। भेटका क्रममा केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे छलफल भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र सभापति लामिछानेले केही दिनपछि गर्न लागेको चीन भ्रमणबारे छलफल भएको बुझिएको छ। विभिन्न देशका लागि राजदूतहरूको छनोट, उच्च तहका अन्य नियुक्तिहरू तथा सरकारमा सहभागी मन्त्रीहरूको भूमिकाबारे दुई नेताबीच कुराकानी भएको छ।
स्रोतका अनुसार दुई नेताबीच कुनै ठूलो दरार उत्पन्न नभएको र यसलाई नियमित छलफलकै रूपमा लिन सकिने बालुवाटार स्रोतको दाबी छ। बालेन शाह प्रधानमन्त्री बनेयता लामिछाने दोस्रोपटक बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री शाहले आफ्नो निवासमा अनौपचारिक जमघट र पारिवारिक भेटघाट बाहेक प्रायः अन्य राजनीतिक संवाद नगर्ने गरे पनि यो भेटलाई अर्थपूर्ण मानिएको छ।
यस भेटमा रास्वपा उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि सहभागी रहेको पार्टी स्रोतले जनाए पनि सुरक्षा स्रोतले भने त्यसको पुष्टि गरेको छैन। यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनले पनि आफू उक्त भेटमा सहभागी नरहेको दाबी गरेका छन्। यसअघिको भेटमा भने बेनसहित दुवै पक्षका उच्च तहका नेताहरू सहभागी रहेको पुष्टि भएको थियो।









