२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

पार्टीको प्रथम आवस्यकता सम्पूर्ण एकता हो, निर्णायक भूमिका खेल्न सभापति गगन थापालाई खड्काको आग्रह



काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले वर्तमान परिस्थितिमा पार्टीको प्रथम अपरिहार्य आवश्यकता सम्पूर्ण एकता भएको बताएका छन्। पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको समभाव सिर्जना गरी संवाद र सहमतिबाट सुदृढ एकता कायम गर्नु नै मुख्य पूर्वसर्त हुनुपर्ने उनको भनाइ छ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता खड्काले सर्वोच्च अदालतको पछिल्लो कदमपछि सामाजिक सञ्जालमा देखिएका अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेका छन्।

‘पार्टीको आधिकारिकताको विवादका विषयमा सर्वोच्च अदालतले निस्सा दिएपछिको तीन दिनमा सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार र टीका-टिप्पणी हेर्दा साह्रै चिन्तित बनाएको छ,’ उनले लेखेका छन्, ‘इतिहासमै देशको राष्ट्रियता अत्यन्त प्रतिकूल र संकटापन्न अवस्थामा पुगेको, लोकतान्त्रिक संविधान धरापमा पार्ने षड्यन्त्र भइरहेको अवस्था अनि कांग्रेस इतिहासमै सबैभन्दा बढी कमजोर रहेको बेला आजको प्रथम अपरिहार्य आवश्यकता सम्पूर्ण एकता हो ।’

वर्तमान भीमकाय चुनौतीहरूको सामना गर्न पार्टीका जिम्मेवार प्रत्येक व्यक्तिले आफ्ना व्यक्तिगत अस्वाभाविक महत्त्वाकांक्षी, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त हुनुपर्नेमा उनले जोड दिएका छन् ।

सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सा एकताको अन्तिम अवसर भएको उल्लेख गर्दै उनले सभापति गगन थापालाई विशेष अपिल गरेका छन्। ‘तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी बन्छौँ। तर निर्णायक तपाईं हो,’ उनले लेखेका छन्।

सामाजिक सञ्जालको दोहोरी र गाली-गलौजले कहीँ नपुगिने भन्दै यस्तो प्रवृत्ति सबै मिलेर तत्काल बन्द गर्नुपर्ने उनको आग्रह छ पार्टी एकताको अनुकूल वातावरण निर्माण गर्न उनले कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका सबै तहका नेता-कार्यकर्ताहरूलाई विशेष अनुरोध गरेका छन्।

देश र संविधान जोगाउन पनि पार्टी एकढिक्का हुनुपर्ने उल्लेख गर्दै खड्काले चेतावनी शैलीमा भनेका छन्, ‘राष्ट्र रहे बहुदलीय लोकतन्त्र रहन्छ, पार्टी रहन्छ, अनि त्यसमा हामी रहने ठाउँ रहन्छ, नभए सबै खरानी हुन्छ। यो कुरा हामी सबैमा हेक्का रहोस्।’

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १० : ३९ बजे