काठमाडौँ । काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि भव्य रूपमा सुरु भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आयोजना गरेको मातृभाषामा पत्रकारिताको विकास, संरक्षण, प्रवर्द्धन तथा यस क्षेत्रमा देखिएका चुनौतीहरूबारे गहन छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनको उद्घाटन तीन फरक र विशेष शैलीमा गरिएको थियो। प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले पारम्परिक पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी थिइन्। त्यसलगत्तै जलवायु परिवर्तनको सन्देश दिन गमलामा पानी हालिएको थियो भने बोन विधिका लामाहरूले मातृभाषामा मन्त्र जाप गर्दै आध्यात्मिक वातावरण सिर्जना गरेका थिए। कार्यक्रममा नेवाः दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सहभागीहरूलाई स्वागत गरेका थिए।
सम्मेलनमा मातृभाषामा पत्रकारिता गरिरहेका सञ्चारकर्मी, पत्रकार, सञ्चारविद् तथा विभिन्न भाषिक समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ। नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले स्थानीय समुदायका समस्या, संस्कृति, परम्परा र पहिचानलाई सञ्चारको मूलधारमा ल्याउन मातृभाषाको पत्रकारिता अपरिहार्य रहेको सहभागीहरूले बताएका छन्।
भोलिसम्म चल्ने सम्मेलनमा मातृभाषामा सञ्चार सामग्री उत्पादन, स्रोतसाधन र प्रविधिको प्रयोग, आर्थिक व्यवस्थापनका साथै डिजिटल माध्यम (अनलाइन, सामाजिक सञ्जाल, भिडियो तथा पोडकास्ट) मार्फत नयाँ पुस्तासम्म मातृभाषा पुर्याउने विषयमा गहन अनुभव आदानप्रदान भइरहेको छ। आयोजकका अनुसार यस सम्मेलनबाट मातृभाषा पत्रकारिताको विकास र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि नीतिगत तथा व्यावहारिक सुझावहरू प्राप्त हुने अपेक्षा गरिएको छ।









