८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

तिब्बतमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प: १६ जनाको मृत्यु, ६५ घाइते



तिब्बतमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार स्थानीय आपत्‌कालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै भूकम्पको केन्द्रबिन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर टाढा रहेको नाग्कु क्षेत्रको बाचेन काउन्टीमा परेको जनाइएको छ। भूकम्प पृथ्वीको सतहबाट १० किलोमिटरभन्दा कम गहिराइमा गएको थियो।

भूकम्पका कारण ठूलो जनधनको क्षति भएपछि चिनियाँ अधिकारीहरूले उक्त घटनालाई ‘आपतकाल’ घोषणा गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्प प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ४०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। घाइते ६५ जनामध्ये ११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

शुक्रबार बिहानसम्म ४०० भन्दा बढी परकम्पहरू मापन गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार टोली तीव्र रूपमा खटिएका छन् भने राहत तथा उद्धार कार्य निरन्तर जारी छ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शुक्रबार  ११ : २८ बजे