मनसुन बाहिरिएपछि केही दिन खुलेको मौसम फेरि बदली हुने संकेत देखिएको छ। बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै चक्रवाती आँधीमा परिणत हुने भएपछि त्यसको असरले कात्तिक ११ गते बुधबारदेखि नेपालका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना बढेको छ।
जल तथा मौसम विज्ञान विभागले ‘पोस्ट मनसुन विशेष मौसम बुलेटिन’ जारी गर्दै कात्तिक ११ देखि १५ गतेसम्म मुलुकको मौसम प्रभावित हुन सक्ने जनाएको छ। पूर्वमध्य तथा त्यससँग जोडिएको दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र थप बलियो हुँदै कात्तिक ९ गते चक्रवाती आँधीमा विकसित हुने अनुमान गरिएको छ। यो प्रणाली पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसा तटबाट जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना छ।
भारतीय मौसम विभागका अनुसार उक्त प्रणाली सोमबार बिहानसम्म चक्रवाती आँधी बन्ने र बुधबार बिहानसम्म आन्ध्र प्रदेशको तट नजिक पुग्नेछ। यसका कारण भारतका आन्ध्र प्रदेश, ओडिसा, तेलंगाना र केरलाका विभिन्न जिल्लाहरूमा अत्यन्त भारी वर्षा हुने भन्दै ‘रेड अलर्ट’ सम्म जारी गरिएको छ।
विभागका मौसमविद् डेभिड ढकालका अनुसार कात्तिक १० गतेसम्म नेपालमा वर्षाको सम्भावना नरहे पनि त्यसपछि बादल विकसित भएर ११ गतेदेखि वर्षा सुरु हुनेछ। बंगालको खाडीबाट विकसित पूरै प्रणाली नेपाल प्रवेश नगरे पनि यसको असरले नेपालमा मौसमी गतिविधि बढ्नेछ। प्रारम्भिक अनुमान अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा यसको सुरुवाती प्रभाव देखिनेछ भने बिस्तारै यो प्रणाली सुदूरपश्चिमतर्फ सर्नेछ। हाल नेपालमा पश्चिमी वायु हाबी रहेकाले पूर्वतिरबाट आउने वायुसँगको अन्तरक्रियाले वर्षाको मात्रा अझ बढाउन सक्ने ढकालको भनाइ छ।
मौसमविद् विनोद पोखरेलका अनुसार कात्तिक १२ देखि १५ गतेसम्म नेपालका धेरै ठाउँमा वर्षा हुने र केही स्थानमा भारी वर्षाको जोखिम छ। विशेष गरी काठमाडौंका साथै लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशीका २८ जिल्ला वर्षाको जोखिममा रहेका छन्। मनाङमा पनि विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ। उपल्लो वायुमण्डलको न्यून चापीय रेखासँग यो प्रणालीको अन्तरक्रिया हुँदा केही स्थानमा असिनासमेत पर्न सक्ने जलवायु तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले बताएका छन्। यो मौसमी प्रभाव झन्डै एक सातासम्म रहे पनि लगातार पानी नपरी बीचबीचमा रोकिने र फेरि पर्ने सम्भावना रहेको छ।
मौसममा आउने यस फेरबदलका कारण विशेष गरी कृषि र पर्यटन (पर्वतारोहण/पदयात्रा) क्षेत्र बढी प्रभावित हुने देखिएको छ। खेतमा पाकेको वा काटेर सुकाउन राखिएको धानबाली नष्ट हुन सक्ने भएकाले कात्तिक १० गतेभित्रै धान थन्क्याउन र उच्च हिमाली क्षेत्रमा तय गरिएका पदयात्रा तथा आरोहणका कार्यक्रमलाई कात्तिक ११ देखि १५ गतेसम्मका लागि रोक्न मौसमविद् तथा पर्यावरणविद्हरूले सुझाव दिएका छन्।









