१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

अर्नब चक्रवातको प्रभाव कमजोर बन्दै, देशभरको मौसममा क्रमिक सुधार



काठमाडौँ — बंगालको खाडीबाट सुरु भएको शक्तिशाली ‘अर्नब’ चक्रवातको प्रभाव कमजोर भएसँगै देशभरको मौसममा क्रमिक रूपमा सुधार आउन थालेको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो एक सूचना जारी गर्दै मौसम सुधारोन्मुख बन्दै गएको जानकारी दिएको छ।

मौसमविद् निष्ठा निरौलाका अनुसार बिहीबार रातिदेखि नेपालमा लगातार वर्षा र हिमपात गराएको अर्नब चक्रवातको अवशेष अब निष्प्रभावी हुँदै गएको छ। हाल कोसी र बागमती प्रदेशका केही स्थानका साथै मधेस प्रदेशका एक-दुई स्थानमा मात्र हल्का वर्षा भइरहेको र अन्य क्षेत्रमा मौसम सफा हुँदै गएको उनले जानकारी दिइन्।

मौसम महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनमा कोसी, बागमती र मधेस प्रदेशमा साधारणतया बादल लागेको भए पनि बाँकी प्रदेशहरूमा भने आंशिक बदलीसहित मौसम खुल्न थालेको उल्लेख छ। अर्नब चक्रवात भारत प्रवेश गर्ने क्रममा नेपालमा जलवाष्पयुक्त हवा भित्रिएका कारण देशका धेरैजसो भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो। केही स्थानमा अझै हल्का वर्षा जारी रहे पनि समग्रमा मौसम सुधारतर्फ गइरहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, शनिबार  ११ : २५ बजे