काठमाडौं । भूमिसुधार विभाग अन्तर्गतका भूमिसुधार तथा मालपोत कार्यालयहरूमा कार्यरत कर्मचारी यदुनाथ आचार्यले गैरकानूनी रूपमा ९ करोड ७२ लाख ७१ हजार ९८९ रूपैयाँ ८३ पैसा बराबरको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
अख्तियारका अनुसार आचार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुर गरेका छन्। सोही आरोपमा आयोगले आचार्य र उनका परिवारका सदस्यसमेतलाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आचार्य २०५४ साल माघ २ गते जिल्ला विकास समितिको कार्यालय, खोटाङमा गा.वि.स. सचिव (रा.प.अनं. द्वितीय श्रेणी) पदबाट सरकारी सेवामा प्रवेश गरेका थिए। उनले सार्वजनिक पदमा बहाल रहेको मिति २०८० साल मंसिर २१ गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरी आयोगले छानबिन गरेको थियो।
अनुसन्धान अवधिमा आचार्य र उनका एकाघरका परिवार तथा सगोलमा रहेका व्यक्तिहरूले ६ करोड २५ लाख ६३ हजार ३४५ रूपैयाँ ४८ पैसा वैधानिक आय आर्जन गरेको देखिएको छ। तर, सोही अवधिमा उनीहरूले १५ करोड ९८ लाख ३५ हजार ३३५ रूपैयाँ ३१ पैसा बराबरको सम्पत्ति तथा लगानी गरेको अख्तियारको ठहर छ।
जाँच अवधिको कुल आयबाट कुल व्यय (खर्च तथा लगानी) घटाउँदा हुन आउने ९ करोड ७२ लाख ७१ हजार ९८९ रूपैयाँ ८३ पैसा बराबरको स्रोत खुल्न नसकेको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको दाबी गर्दै अख्तियारले अदालतमा अभियोग पत्र दायर गरेको हो।









