१८ कार्तिक २०८३, मंगलबार | Wed Nov 4 2026

अमेरिकामा मध्यावधी निर्वाचन जारी



अमेरिकामा मङ्गलबार सन् २०२६ को महत्त्वपूर्ण मध्यावधि निर्वाचनका लागि देशैभर मतदान भइरहेको छ। राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा भएसँगै भइरहेको यो निर्वाचनलाई ट्रम्प प्रशासनको नीति र कार्यशैलीमाथिको ठूलो जनमतसंग्रह (रेफरेन्डम) को रूपमा हेरिएको छ।

यस निर्वाचनमार्फत अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ का सबै ४३५ सिट, माथिल्लो सदन ‘सेनेटर’ का ३५ सिट र देशका ३६ राज्यका गभर्नरहरूको फैसला हुँदैछ। हाल अमेरिकी कंग्रेसका दुवै सदनमा सत्तारूढ रिपब्लिकन पार्टीको झिनो बहुमत छ। तर, चुनावी सर्वेक्षणहरूले विपक्षी डेमोक्रेटिक पार्टीले तल्लो सदनमा स्पष्ट बहुमत ल्याउने र सेनेटमा पनि कडा टक्कर दिने बलियो सम्भावना देखाएका छन्। यदि डेमोक्र्याटहरूले कंग्रेसमा नियन्त्रण कायम गरेमा ट्रम्पका आगामी नीति र विधायकी एजेन्डामा ठूलो अंकुश लाग्नेछ।  

देशैभरका मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको उत्साहजनक उपस्थिति देखिएको छ। निर्वाचनअघि नै करिब ६ करोड अमेरिकीहरूले ‘अर्ली भोटिङ’ (अग्रिम मतदान) र हुलाक (मेल) मार्फत आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। महँगी, इरानसँगको तनावपूर्ण स्थिति, र एआई (कृत्रिम बौद्धिकता) तथा प्रविधिका कारण सिर्जित रोजगार सुरक्षाजस्ता मुद्दाहरू यसपटक मतदाताका मुख्य चासोका विषय बनेका छन्।  

पूर्वी क्षेत्रका केही राज्यहरूमा भोट गणना सुरु भइसके तापनि पश्चिम क्षेत्रका राज्यहरूमा मतदान जारी छ। प्रारम्भिक नतिजाको रुझान मङ्गलबार रातिदेखि नै आउन थाल्नेछ, तर धेरै स्थानमा कडा प्रतिस्पर्धा भएकाले र हुलाकबाट प्राप्त मतहरू गन्न समय लाग्ने भएकाले पूर्ण तथा अन्तिम नतिजा आउन केही दिन लाग्न सक्ने निर्वाचन अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८३, मंगलबार  ११ : ०१ बजे