२६ कार्तिक २०८३, बुधबार | Wed Nov 11 2026

अमेरिकामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट हत्या मुद्दामा पति नरेश भट्ट दोषी ठहर



अमेरिकामा बेपत्ता नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको चर्चित हत्या मुद्दामा उनका पति नरेश भट्ट अदालतबाट दोषी ठहर भएका छन्। भर्जिनियास्थित अदालतमा करिब ६ हप्तासम्म चलेको सुनुवाइपछि मंगलबार अदालतले नरेशविरुद्ध ‘फर्स्ट-डिग्री मर्डर’ (गम्भीर प्रकृतिको हत्या) को कसुरमा दोषी ठहर गरेको हो। अदालतले हत्याका साथै ममताको शवको अपमान गरेको र त्यसलाई लुकाएको ठहरसमेत गरेको छ।

सुनुवाइको क्रममा नरेशले ममता बेडरुममा मृत भेटिएको र आफूले केवल शव व्यवस्थापन मात्र गरेको जिकिर गर्दै आएका थिए। तर, बहसको अन्तिम चरणमा सरकारी वकिलहरूले नरेशको उक्त दाबीलाई ‘मनगढन्ते र बेतुकको’ भन्दै खारेज गर्न जुरीलाई आग्रह गरेका थिए। वरिष्ठ सहायक कमनवेल्थ्स अटर्नी सारा सामीले प्रतिवादीले ममताको हत्या गरी उनको शरीर टुक्रा-टुक्रा पारेर फोहोर फाल्ने ठाउँ (ल्यान्डफिल) मा फालेको तर्क प्रस्तुत गरेकी थिइन्। उनले पीडित परिवारले ममताको शव कहिल्यै प्राप्त गर्न नसक्ने र अन्तिम संस्कारसमेत गर्न नपाउने पीडਾदायी यथार्थसँग बाँच्नुपरेको कुरा अदालतसमक्ष स्पष्ट पारिन्।

दोषी ठहर भएका भट्टलाई हत्याको कसुरमा कम्तीमा २० वर्षदेखि बढीमा आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। यसबाहेक शव लुकाएको र अपवित्र पारेको अन्य कसुरमा प्रत्येकमा पाँच-पाँच वर्षसम्म कैद सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ। नरेश भट्टलाई हुने सजायको अन्तिम फैसला आगामी मार्च महिनामा सुनाइनेछ। अदालतले फैसला सुनाइरहँदा भवनबाहिर जम्मा भएका ममताका साथीहरू र स्थानीय नेपाली समुदायले खुसियाली मनाएका थिए।

भर्जिनियाको यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत ममता सन् २०२४ अगस्ट १ मा काममा अनुपस्थित भएपछि यो घटना बाहिर आएको थियो। सुरुमा नरेशले ममता जुलाई २९ देखि सम्पर्कविहीन भएको र सम्बन्ध विच्छेदको कुरा गर्दै घर छाडेर गएको दाबी गर्दै अगस्ट ५ मा हराएको उजुरी दिएका थिए। तर परिवार र सहकर्मीहरूले सानी छोरीलाई छाडेर ममता एक्लै कतै जान सक्ने कुरामा शंका व्यक्त गरेपछि प्रहरी अनुसन्धान अगाडि बढेको थियो। सोही अनुसन्धानका आधारमा प्रहरीले २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो। घटनाको गम्भीरता र प्रमाणहरूका आधारमा अदालतले दोषी ठहर गरे पनि ममताको शव भने हालसम्म फेला पर्न सकेको छैन।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बुधबार  ८ : २२ बजे