काठमाडौँ । विदेशी कूटनीतिज्ञहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट पछि हट्दै प्रधानमन्त्री वालेन्द्र शाहले सोमबारदेखि काठमाडौँस्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टाछुट्टै भेटवार्ता सुरु गर्ने भएका छन्। गत १३ चैतमा पदभार ग्रहण गरेयता काठमाडौँस्थित राजदूतहरूसँग शाहको यो पहिलो व्यक्तिगत शिष्टाचार भेट हुनेछ।
भेटघाटको पहिलो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग सिंहदरबारमा छुट्टाछुट्टै छलफल गर्ने तय भएको छ। त्यस्तै मंगलबार काठमाडौँस्थित कार्यवाहक अमेरिकी राजदूत (चार्ज डी’ अफेयर्स) स्कट अर्बमसँग भेटवार्ता हुनेछ। दुई साताअघि नै तय भएको यो कार्यक्रम सुनसरी लगायतका जिल्लामा भएका हिंसात्मक घटनाका कारण पछि धकेलिएको थियो। छिमेकी मुलुकका राजदूतहरूलाई एकै दिन भेटेर दुवै देशको समान महत्त्व रहेको सन्देश दिन खोजिए पनि पहिले भारत र त्यसपछि चीनका राजदूतलाई समय दिएर सरकारको घोषित परराष्ट्र नीतिको प्राथमिकता दर्शाइएको छ।
भेटघाट मुख्यतया परिचयात्मक हुने अपेक्षा गरिएको छ, जहाँ राजदूतहरूले द्विपक्षीय सम्बन्धको अवस्थाबारे जानकारी गराउँदै आफ्ना सरकारका तर्फबाट सन्देश हस्तान्तरण गर्नेछन्। यसअघि पारदर्शी कूटनीति र समदूरीको सम्बन्ध विकास गर्ने भन्दै प्रधानमन्त्री शाहले २५ चैत २०८२ र गत १२ जेठमा नियोग प्रमुखहरूसँग सामूहिक बैठक मात्र गरेका थिए। सोही अडानका कारण उनले नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर, विशेष दूत सर्जियो गोर र उपविदेशमन्त्री सारा बी. रोजर्स लगायतका उच्च विदेशी अधिकारीहरूसँगको भेट अस्वीकार गरेका थिए।
यद्यपि, सो अडानका बीच उनले २२ असारमा एसियाली विकास बैंक (ADB) का अध्यक्ष मासातो कान्डालाई भने भेटेका थिए। सरकारले १०० दिन पूरा गरेपछि सल्लाहकारहरूको सुझावअनुसार प्रधानमन्त्री शाहले आफ्नो भेटघाटको दायरा बढाउँदै लगेका हुन्। तराई-मधेशको आन्दोलनका कारण स्थगित भएको राजदूतहरूसँगको यो भेटघाटमा परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरू समेत सहभागी हुनेछन्।









