१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

आगोले यस्तो बनायो लन्डनको २७ तले भवन, १२ को ज्यान गयो, कैयौंको अवस्था अज्ञात


१ असार २०७४, बिहिबार  

0
Shares

एजेन्सी । लन्डनमा एउटा २७ तले आवासीय टावरमा भएको भीषण आगलागीमा परी १२ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुलाई उद्धृत गर्दै मेलअनलाइनले जनाएको छ । उक्त घटनामा परी घाइते भएका ७९ जना व्यक्तिहरु विभिन्न अस्पतालमा उपचाररत छन् भने सय भन्दा बढी मानिसहरुको अवस्था अज्ञात रहेको छ ।
ल्याङक्यास्टर वेस्ट इस्टेटको ग्रेनफेल टावरमा भएको आगलागी हुँदा सो भवनमा करिब ६ सय मानिसहरू थिए । आगलागीपछि २०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको थियो । स्थानीय समयअनुसार जुन १३ मंगलबार राती एक बजे लाग्न सुरु भएको आगलागीमा प्रहरीले १२ जनाको शव फेला पारेका छन् ।


आगलागीको स्पष्ट कारण खुलेको छैन । आगलागीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भवनको २५औँ तलाको एउटा कोठाबाट आगो निस्किएको थियो । सोही तलामा बिग्रिएको एउटा फ्रिजबाट आगो सल्किएको केहीले अनुमान गरेका छन् । फ्रिज विस्फोटपछि फैलिएको आगोले १५ मिनेटमै भवनलाई ध्वस्त बनाएको थियो । भवनभित्र प्राविधिक गडबडीले आगो निस्किएको प्रहरीको प्रारम्भिक अनुमान छ । पछिल्ला समयमा अतिवादी आक्रमणको चपेटामा परेका वेलायतीले सुरुमा सो आगलागीलाई अतिवादी आक्रमणसँग जोडेका थिए ।

प्रकाशित मिति : १ असार २०७४, बिहिबार  ९ : ३६ बजे