१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

निधिलाई कार्यबाहक सभापति दिएकोमा पौडेल असन्तुष्ट


११ भाद्र २०७४, आइतबार  

0
Shares

काठमाडाैं । सल्लाह नै नगरी सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापति बनाएपछि नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट भएको छ । शनिबार महामन्त्री डा. शशांक कोइरालानिवास महाराजगन्जमा बसेको पौडेल पक्षको भेलाले विधि, प्रक्रिया र पद्धति तोड्दै एक्कासि सभापति देउवाले निधिलाई कार्यवाहक सभापति तोकेको निष्कर्ष निकालेको छ । ‘पार्टीमा परामर्श नै नगरी हतारमा कार्यवाहक सभापति तोकिएपछि बैठकमा अधिकांश नेताहरूले असन्तुष्टि व्यक्त गर्नुभएको छ,’ भेलामा सहभागी एक नेताले नयाँ पत्रिकासँग भने, ‘कार्यवाहक बनाउँदा विधि, परम्परा केहीलाई पनि ध्यान दिइएन । अकस्मात् कार्यवाहक बनाइयो भनेर साथीहरू असन्तुष्ट हुनुहुन्छ ।’ भारतको राजकीय भ्रमण गर्ने दिन ७ भदौमा देउवाले केन्द्रीय समितिमा आठौँ वरीयताका निधिलाई कार्यवाहक सभापतिको जिम्मा दिएका थिए ।

विधानतः पार्टी उपसभापति कार्यवाहक हुने व्यवस्था छ । तर, उपसभापति मनोनीत नभएको अवस्थामा सभापतिले पार्टीमा छलफल नै नगरी निधिलाई कार्यवाहक सभापति दिएको पौडेल पक्षको दाबी छ । छलफलविनै कार्यवाहक सभापति तोकेपछि देशभरका नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको पौडेल पक्षको दाबी छ ।

उपसभापति निधिलाई नै बनाउने तयारी स्वरूप देउवाले कार्यवाहक बनाएका हुन् । तर, बैठकमा शशांक कोइरालाले कार्यवाहक सभापतिका विषयमा खास प्रतिक्रिया दिएनन् ।

फेरि हार्ने डर : साउन मसान्तभित्रै प्रदेश–२ मा उम्मेदवारको टुंगो लगाउने तयारी गरे पनि १० भदौ बित्दासमेत कांग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको छैन । पहिलो र दोस्रो चरणमा जस्तै तेस्रो चरणमा पनि ढिलो गरी उम्मेदवार चयन हुँदा फेरि पनि हार्ने चिन्ता पौडेल पक्षको छ । ‘प्रदेश–२ मा उम्मेदवार साउन मसान्तभित्रै टुंग्याउने भन्ने थियो । तर, अहिलेसम्म हुन सकेको छैन,’ नेता डा. रामशरण महतले भने, ‘उम्मेदवार चयनमा ढिलाइ गर्दा फेरि पनि हारिन्छ भन्ने चिन्ता बढेको छ । न उतातिर निर्वाचनको तयारी भएको छ न यता उम्मेदवारको टुंगो नै लागेको छ ।’ जिल्लाबाट उम्मेदवारको सिफारिस भएर नआउँदा समस्या देखिएको उनले बताए । भेलामा नेताहरूले महामन्त्री शशांकलाई छिटो उम्मेदवार टुंग्याउने पहल गर्न आग्रह गरेका थिए । छलफलमा नेता पौडेल, महामन्त्री शशांक, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा. महतलगायत सहभागी थिए । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार  ७ : २५ बजे