काठमाडौँ । जाति, भाषा, धर्म, भूगोल र संस्कृतिको विविधतापूर्ण नेपालमा नेवार कला र संस्कृतिको विशिष्ट स्थान छ । खासगरी राजधानी काठमाडौँमा मनाइने नेवारी चाड, पर्व, संस्कृति र संस्कारसँग गाँसिएर चित्र कोर्दै आएकी कलाकार रीता मानन्धरको चौथो एकल चित्रकला प्रदर्शनी ‘कल्चरल एक्सप्रेसन’ नेपाल आर्ट काउन्सीलमा भइरहेको छ ।
भदौ ९ गतेदेखि सञ्चालित प्रदर्शनीमा रिताले उपत्यकाको सांस्कृतिक झल्को दिने एक्रेलिक रंग माध्यमका २१ वटा कृति राख्नुभएको छ । उहाँले खासगरी राजधानीका जात्रा, पर्व, मेलासँग गाँसिएका सांस्कृतिक पक्षलाई कृतिमा उतारेकी छन् ।
प्रदर्शनीमा राखिएका कृतिबारे कलाकार रीता भन्छिन्–“उपत्यकामा जन्मे, हुर्के । यहाँका सांस्कृतिक वैभव र जात्रा, पर्वसँग सानैदेखि परिचित हुने अवसर पाएँ । जुन मेरा कलामा त्यसका प्रभाव प्रस्ट देखिन्छ ।”
कला क्यानभासमा मात्र सीमित नभई यसमा भावनाको सशक्त सम्बोधन हुन्छ भन्ने मान्यता राख्नुहुने कलाकार रीता भन्छिन्–“रङ र कुचीमार्फत् भावनाको अभिव्यक्ति प्रस्तुत गर्न सांस्कृतिक विषयलाई छाने । संस्कृतिको महत्व मानव जीवनमा कतिको रहन्छ भन्ने विषयसँग केन्द्रीत रहेर कला रचनामा लागें ।”
कलामा स्नातकोत्तर रीताका पन्ध्रदेखि ६० हजार मूल्य सम्ममा कलाकृति राखिएको प्रदर्शनी मङ्गलबारसम्म रहने जनाइएको छ ।