अोली र प्रचण्डले निवासमा कसैलाई नभेट्ने

२०७४ माघ १८, बिहीबार ०७:३६

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब नियमित भेटघाट पार्टी कार्यालय धुम्बाराही र संसदीय दलको कार्यालय सिंहदरबारमा गर्ने भएका छन् ।

निजीनिवास बालकोट भक्तपुरमा भिडभाडका कारण असहजता देखिएको भन्दै बुधबारदेखि ओलीले नियमित भेटघाटका कार्यक्रम सिंहदरबार र पार्टी कार्यालय धुम्बाराहीबाट गर्न सुरु गरेका हुन् ।

सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ३ बजेसम्म करिब चार घन्टा समय अध्यक्ष ओलीले नियमित भेटघाटका लागि छुट्याएको उनका स्वकीयसचिव अनीश दाहालले जानकारी दिए ।

 

दाहालका अनुसार ओलीले बालकोटस्थित निजीनिवासमा अत्यावश्यकीय र विशिष्ट प्रकृतिको भेटघाट मात्र गर्नेछन् ।

ओलीको सचिवालयमा कार्यरत स्वकीयसचिवहरूबीच जिम्मेवारी बाँडफाँडसमेत भएको छ ।

पार्टीको आन्तरिक मामिला र राजनीतिक विषयसँग सम्बन्धित भेटघाटको व्यवस्थापन पार्टी कार्यालय, धुम्बाराहीमा केन्द्रीय सदस्य देवराज घिमिरेले गर्नेछन् ।

त्यस्तै, संसदीय दलमा हुने संसदीय मामिला र विकाससँग सम्बन्धित भेटघाटको व्यवस्थापन स्वकीयसचिव दाहाल तथा निजीनिवासको अत्यावश्यकीय भेटघाटको व्यवस्थापन अर्का स्वकीयसचिव राजेश बज्राचार्यले गर्नेछन् ।

बज्राचार्यले अध्यक्ष ओलीको अन्य निजी मामिलामा समेत लामो समयदेखि सहयोग गर्दै आएका छन् ।

त्यस्तै, प्रेससँगको समन्वयको काम भने ओलीका प्रेस संयोजक चेतन अधिकारीले गर्दै आएका छन् ।

यसअघि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निजीनिवास खुमलटारमा अत्यावश्यकबाहेक नियमित भेटघाट बन्द गर्दै पार्टी कार्यालय, पेरिसडाँडामा सुरु गरेका थिए । नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित समाचार