४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

अमेरिकाका विभिन्न राज्यमा साकेला उभौलीको तयारी


१३ बैशाख २०७६, शुक्रबार  

0
Shares

अमेरिका । यस वर्ष पनि युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले अमेरिकाको विभिन्न राज्यमा साकेला उभौली मनाउन पूर्व तयारी गरेको छ ।

अर्गनाइजेसनका केन्द्रीय सभापति विष्णु राईका अनुसार वासिङ्टन डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सिल्भानिया (डी एम भी पी) मा मे ५ तारिख र क्यालिफोर्नियामा जुन १ तारिख, साकेला कार्यक्रम हुने भएको छ ।

त्यस्तै केन्द्रीय साकेला मे १९ मा न्युयोर्कमा हुने तथा साकेलाको अघिल्लो दिन मे १८ मा अर्गनाइजेसनको केन्द्रीय अधिवेशन पनि हुने भएको छ । यो वर्षको साकेला जुन १६ मा बोस्टनको वाटर टाउनस्थित आर्सनल पार्कमा गरिने र त्यो दिनको कार्यक्रममा यो वर्षको अन्तिम मैजारो हुने बताइएको छ ।

यो वर्ष केन्द्रीय कमिटीको साकेला कार्यक्रम युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका पूर्वसभापति तथा हालका सल्लाहकार प्रभाकर राईको संयोजकत्वमा हुने भएको छ ।

त्यस्तै युनाइटेड किरात राई अर्गनाइजेसन डिएमभीपी च्याप्टरको साकेला मई ५ मा हुने भएकोले अमेरिकाका सबै राज्यका राईहरूलाई उपस्थिति भइदिन अध्यक्ष प्रकाश राईले अनुरोध गरेका छन् ।

न्युइङगल्यान्ड च्याप्टर सभापति मुक्तिनारायण राईका अनुसार साकेलाको उपलक्ष्यमा अमेरिकी रेडक्रससँगको सहकार्यमा सदा झैं यो वर्ष पनि अप्रिल २७ मा ‘रक्तदान जीवन दान’ भन्ने नाराको साथ रक्तदान कार्यक्रमको आयोजना गरिदैंछ ।

 

न्यु हेम्प्सायरको स्ट्राडम्स्थित द आइपीपी आइको अफिसमा रक्तदान गरिनेछ । साथै सोही दिन न्युइङ्ल्यान्ड च्याप्टरको अधिवेशन समेत गरिनेछ । राईका अनुसार ढोल झ्याम्टाको विधिवत रूपमा पूजा गरी साकेला अभ्यास शुरु गरिएको छ ।

 

केन्द्रीय साकेला न्युयोर्कको लागि सहभागी हुन साकेला नृत्य टोलीहरू पनि तयार गरिएको छ । अर्गनाइजेसनका न्युयोर्क च्याप्टर सभापति केशवराम राईका अनुसार सहभागीहरूका लागि होटल तथा सभाहल र साकेला कार्यक्रमको लागि पार्क बुक गरिसकिएको छ । उनका अनुसार न्युयोर्कको क्विन्स ब्रिज पार्कमा मे १९ मा हुने भएको साकेलाको लागि ढोल झ्याम्टाको विधिवत रूपमा पूजा गरी साकेला नाच अभ्यास शुरु गरिएको छ ।

अर्गनाइजेसनका सल्लाहकार डी एम भी पी का प्रतिनिधि मिलन राईका अनुसार आगामी जुन ५ मा मेरिल्याण्डमा गरिने साकेलाको पूरा तयारी गरी सकिएको छ । मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित स्थानीय ब्लाक हिल रिजनल पार्क लेक रिज ड्राइभमा कार्यक्रम गरिने र पार्क बुक गर्नेदेखि लिएर अतिथिहरूको लागि होटल बुकिङ गरिएको कुरा बताएका छन् ।

क्यालिफोर्निया लोकल च्याप्टर सभापति जोर वीर राईका अनुसार यसपटकको साकेला कार्यक्रम जुन १ मा सनफ्रान्सिस्को शहर नजिकै फ्रीमोन्ट टाउनमा गर्न लागिएको छ र अतिथिहरूलाई निम्तो दिने लगायतको कार्यहरू सम्पन्न गरिएको कुरा उनले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ८ : १० बजे