१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

प्रचण्डको ‘नश्लीय अभिव्यक्ति’प्रति तामाङ समाज अमेरिकाको आपत्ति, तत्काल माफी माग्न आग्रह


१२ असार २०७६, बिहिबार  

0
Shares

न्युयोर्क । तामाङ समाज अमेरिकाले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफी माग्न माग गरेको छ ।

समाजकी अध्यक्ष सानुमाया तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रचण्डको अभिव्यक्ति नश्लीय भएकोले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘चितवन महानगरपालिकाको चौथो नगरसभाको उद्घाटनको क्रममा नेपालका आदिवासी समुदाय तामाङ जाति प्रति अपमान हुने गरी नश्लीय प्रोफाइलिंग (Racial Profiling) को भावना सहितको दृष्टान्त अभिव्यक्ति गरेकोमा तामाङ समाज अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ । प्रचण्डको उक्त नश्लीय अभिव्यक्तिको हामी घोर भत्सना गर्दछौ,’ आज साँझ जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्रचण्डले तुरन्तै सार्बजनिक रुपमा माफी माग्न र अब उप्रान्त कुनै पनि संस्था वा व्यक्तिले नश्लीय प्रोफाइलिंग हुने भावार्थको अभिव्यक्ति नदिन हुन तामाङ समाज अमेरिका अनुरोध गर्दछौ ।’

जातीय दुर्भावना फैलाउने खालका अभिव्यक्तिले समाजमा खराब प्रभाव पार्ने भन्दै तामाङ समाज अमेरिकाले यस्ता विषयमा प्रचण्डलाईसमेत प्रशिक्षण दिन तयार रहेको बताएको छ । भनिएको छ, ‘यदि प्रचण्डले नश्लीय प्रोफाइलिंगको ज्ञानको अभाबमा त्यस्तो अभिव्यक्ति राखेका हुन् भने “नश्लीय प्रोफाइलिंग के हो ? राजनीति तथा समाजमा यसका प्रभाब र परिणामहरु के हुन्छन् ?” तत् सम्बन्धि प्रचण्ड र उसका कार्यकर्तालाई प्रशिक्षण दिन तामाङ समाज अमेरिका तयारी रहेको समेत जानकारी गराउन चाहन्छौ ।’

साथै समाजले सामाजिक सदभाब र भातृत्वको सम्बन्ध सबै जातजातिबीच रहनुपर्छ भन्ने हाम्रो संस्थाको मान्यता रहेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  ८ : ४० बजे