काठमाडौँ । पूर्व सिडिओ धनप्रसाद शर्मा पौडेलको आत्मकथा आफ्नै भूमि आफ्नै अनुभव आज राजधानीमा सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, साहित्यकार प्रमोद प्रधान, समिक्षक ज्ञानु अधिकारी, ठाकुर चापागाईँ, लेखक धनप्रसाद शर्मा पौडेल लगायतले पुस्तकको संयुक्त रुपमा रुपमा विमोचन गरेका हुन् ।
सभामुख महराले कुनै बेला आफू हटारु पत्रिकाको सम्पादक रहेको र पत्रिकाकै कारण तीन महिना जेल परेको बताए । त्यतिबेला आफूले पनि कविता लेख्ने गरेको प्रसंग कोट्याउदै महराले सबैमा कवि हृदय हुने तर सबैलै अभिव्यक्त नगर्ने गरेको सुनाए । मन्तव्यका क्रममा महराले धनप्रसाद शर्मा पौडेल देश र जनतालाई माया गर्ने प्रशासक रहेको भन्दै पुस्तकमा सिक्नुपर्ने थुप्रै कुराहरु रहेको धारणा राखे ।
पत्रकार एवं समिक्षक प्रमोद प्रधानले बजारमा थुप्रै आत्मकथाका किताब आएपनि ती अर्कैले लेखिदिएकाले आत्मरती मात्र रहेको भन्दै आफ्नै भूमि आफ्नै अनुभवमा लेखकले आफ्ना कमी कमजोरी पनि उल्लेख गरेको बताए । ‘किताबमा सफलता असफलता दुवै कथा छन् । विशिष्ट व्यक्तिको यस्तो अनूभुति आउनु धेरै राम्रो हो’ , उनले थपे ।
त्यसैगरि समिक्षक ज्ञानु अधिकारीले किताबमा प्रशासनिक जीवनका आरोहअवरोहका साथै कतै पुस्तक संस्मरण जस्तो, कतै नियात्रा जस्तो त कतै निबन्ध जस्तो रहेको बताइन् । उनले किताब पढ्दा पाठकलाई रोचक नै लाग्ने धारणा राखिन् ।
लेखक पौडेलले किताब लेख्नुका कारण बताउनुका साथै जागिरे जीवनका केही अनुभूति समेत पस्केका थिए ।
बिएन पुस्तक संसारका अध्यक्ष ठाकुर चापागाईँको अध्यक्षतामा संचालित सो कार्यक्रमको सहजीकरण उपन्यासकार अनुपम रोशीले गरेकी थिइन् ।
सूर्य बिसीले सम्पादन गरेको सो पुस्तकको बजार मूल्य ३०० रुपैँया रहेको छ ।