२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

नेतृत्वले निहुराउन बाध्य पारेको एनआरएनए शिर


२० कार्तिक २०७६, बुधबार  

0
Shares

आङछिरिङ शेर्पा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलनमा आएकाहरु धेरैजसो आआफ्नो कर्मभूमि फर्किन थालेका छन् । दशैं र तिहार मनाउन आएकाहरुबाहेक एनआरएनएकै सम्मेलनमा भाग लिन छोटो समय लिएर आएकाहरु प्रायः फर्किसके । चाडवाडको मौकामा सम्मेलनमा आएकाहरु यतै रमाए पनि सम्मेलनमा भाग लिएर फर्कनेहरु खल्लो अनुभव लिएर कर्मभूमितिर लागे । निर्वाचनमा जित्नेहरु खुशी हुनु र पराजय भोग्नेहरु निराश हुनु अस्वाभाविक होइन । तर, सम्मेलनका क्रममा देखिएका विभिन्न किसिमका हर्कतहरुबाट वक्का भएर फर्केनेहरु यसपटक धेरै देखिए ।

हरेक दुई वर्षमा हुने एनआरएनएको नयाँ कार्यसमितिको चयन यस पटक पनि विवादमुक्त हुन सकेन । निर्वाचन कुनै राजनीतिक पार्टीको भन्दा कम थिएन । चरम गुटबन्दी र चर्को राजनीतिक हस्ताक्षेपका कारण एनआरएनएका लागि आवश्यक बौद्धिक व्यक्तित्वहरु समेत कार्य समितिमा अटाउन सकेनन् । कुनै बेला उपेन्द्र महतो र शेष घलेको नेतृत्वमा एनआरएनए संसारभर विभिन्न देशहरुमा छरिएर रहेका गैरआवासीय नेपालीहरुको मनमा बसेको थियो । त्यसबेला नेपालमा बस्ने नेपालीहरुले पनि एनआरएनएलाई राम्रो संस्थाका रुपमा लिन्थे । उनीहरुले यो संस्थाले नेपालको समृद्धिमा योगदान दिन सक्छ भनेर सोच्थे । त्यसैले सरकारले पनि एनआरएनलाई नेपालमा वैधानिकता दियो । तर, समयक्रमसंगै एनआरएनएमा पछिल्लो समय विकृतिहरु बढ्न थालेपछि र राजनीतिक पार्टी हावी हुँदै गएपछि यतिखेर विदेशमा बस्ने प्रवासी नेपालीले मात्र होइन, नेपालमा बस्नेहरुको पनि एनआरएनएलाई हेर्ने दृष्टिकोण फेरियो । पछिल्लो समय एनआरएनए विदेशमा बस्ने सबै नेपालीको भावना समेट्न सक्ने साझा संस्थाको रुपमा नभएर सीमित व्यक्ति र खुराफती राजनीति गर्नेहरुको संस्थाको रुपमा परिचित हुन थालेको छ । चर्को उम्मेद्वारी शुल्क एउटा तगारो नै बन्यो ।

एनआरएनएमा केही विषयहरु केही वर्षयता समस्याका रुपमा थिए । त्यो यस पटक पनि दोहोरियो । निर्वाचनअघि बन्दसत्रमा आर्थिक प्रतिवेदन पास हुन नसक्ने, निर्वाचनमा राजनीतिक दलका नेताहरु नै भोट माग्न आइपुग्ने, गुटबन्दी गर्ने, आर्थिक चलखेल हुने र निर्वाचन कमिटीले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गर्न नसक्ने जस्ता समस्याहरु यस पटक पनि बल्झियो । यसका साथै यस पटक संस्था करोडौं रुपैयाँ ऋणमा रहेको देखियो । अर्को यस पटकको सम्मेलनका क्रममा चरम अनुशासनहीनताको प्रदर्शन भयो । यसले नेपालमा बस्नेहरुले जति सभ्य र कानुनी शासन भएको मुलुकमा बसेपनि नेपालीहरुको बानीमा भने सुधार नभएको भन्दै व्यङ्ग्य गरे । प्रतिनिधिहरुको यस्तै खाले अनुशासनहीन गतिविधि, अनावश्यक तडकभडक, दलगत राजनीतिको प्रभाव र सधैको विवादले आप्रवासी नेपालीहरुको साझा संस्था एनआरएनएको गरिमा घटेको छ ।

सम्मेलनमा भाग लिन आएका एनआरएनएको प्रतिनिधिहरुको यिनै गतिविधिका कारण नेपालका विभिन्न क्षेत्रका व्यक्तिहरुले एनआरएनएमाथि धेरै प्रश्नहरु उठाउन थालेका छन् । कतिपयले एनआरएनएमा शेष घलेको नेतृत्वको कार्य समितिले जम्मा गरेको करोडौं रकम सबै सकेर पनि संस्थालाई किन माग्ने बनाएको ? भन्ने प्रश्न गरेको छन् । कतिपयले एनआरएनहरुले नेपालमा सकेको पूँजी, प्रविधि र सीप लगानी गर्लान् भन्दा घिन लाग्दो राजनीति ग¥यो भनी आलोचना छन् । विदेशमा बसेर पनि तपाईहरु किन यसरी लाज लाग्दो गरी राजनीतिक दलको पुच्छर भएर हिँडेको भनेको सुन्दा मलाई पनि निकै दुःख लाग्यो । केही सीमित व्यक्तिको व्यक्तिगत स्वार्थ र महत्वकांक्षले गैरआवासीय नेपालीहरुको शिर निहुराउनु परेको छ ।

एनआरएनएको सम्मेलनसँगै करिब महिना दिनको नेपाल बसाईमा हरेक क्षेत्रका व्यक्तिहरुले एनआरएनएप्रति नकारात्मक प्रतिक्रिया दिएका छन् । यसले मलाई आफु एनआरएनए सदस्य हो भन्न पनि लाज लाग्ने अवस्था बन्यो । यस्तो महशुस गर्ने सायद म न पहिलो व्यक्ति हुँ, न अन्तिम, धेरैलाई यस्तो लागेको हुनुपर्छ । सामाजिक सञ्जालमा एनआरएनएको गतिविधिलाई तीव्र विरोध गरेका पोस्टहरु अहिले पनि हेर्न पढ्न पाइन्छ ।

एनआरएनएप्रति बनेको देशभित्र र बाहिर बनेको यो नकरात्मक सोचलाई हटाउन नवनिर्वाचित अध्यक्ष कुमार पन्त नेतृत्वको नयाँ कार्य समितिले केही कदमहरु तत्काल चाल्नु पर्ने हुन्छ । नेपालबाहिर बस्ने नेपालीहरुको लागि साझा आस्थाको केन्द्रको रुपमा कायम राख्न र नेपालमा रहेका नेपालीहरुका लागि आशाको दियो बनाउँदै एनआरएनएको गरिमा उच्च राख्ने हो भने तत्काल देखिएको विकृति र बिसंगतिहरु हटाउने कदम चाल्नु पर्छ । काठमाडौंमा हुँदै आएको एनआरएनएको सम्मेलनमा बढ्दै गएको यो विकृति र तमासाले नेपालमा बस्नेहरुको मनमा एनआरएनएप्रति जुन विश्वास थियो त्यो हट्दै गएको छ । यो घटनाक्रमहरुबाट पाठ सिकेर सक्षम नेतृत्व र संस्थागत विकासको लागि काम गर्न सकेन भने अब विदेशमा बस्ने नेपालीहरुको मनबाट पनि एनआरएनए हट्दै जाने छ ।

अबको नेतृत्वले पनि पुरानै पाराले खुराफाती राजनीति गर्ने र त्यस्तै सल्लाहकारहरुको सल्लाह मानेर अघि बढेमा अबको दिनमा संस्थाको गरिमा झन घट्ने प्रष्टै छ । अहिलेसम्म एनआरएनए नेतृत्वमा पुग्नेहरु विदेशमा बस्नेहरुको हित र नेपाललाई समृद्ध बनाउन भन्दापनि बढि आफ्नै व्यापार व्यवसाय बढाउन तल्लिन भएको देखियो । उनीहरुले सरकार र सम्बन्धित निकायसँग आफ्नो स्वार्थ पुरा गराउन देखाउने हतियारको रुपमा एनआरएनए सँस्थालाई प्रयोग गरेको देखियो ।

नवनिर्वाचित अध्यक्ष पन्त स्वयंले पनि निर्वाचनको बेला गरेको अनलाइन भोटिङ गराउने र काठमाडौंमा निर्वाचन नगर्ने भनी गरेको घोषणा विकृति हटाउने राम्रो उपाय हुन सक्नेछ । आफुले घोषणा गरेको यो प्रतिबद्धता पुरा गर्ने चुनौति अब पन्तलाई छ । यदि यो प्रतिबद्धता पुरा गरेर र मौलाउँदै गएको पार्टीगत गुटबन्दीबाट एनआरएनलाई जोगाउन सके पन्तको नेतृत्व सफल भएको मानिनेछ । एनआरएनएले फेरि विदेशमा बस्ने सबै नेपालीहरुको गरिमामय साझा संस्थाको रुपमा पुनजगृत हुने अवसर प्राप्त गर्नेछ । तर, नयाँ नेतृत्वले पनि संस्थामा देखिएका विकृतिहरुमा सुधारको प्रयास थालनी नगर्ने हो भने एनआरएनए गफाडीहरुको ठूलाठूला गफ दिने तर काम केही नगर्ने एउटा लाजमर्दो अखडाको रुपमा परिणत हुनेछ । जति ठूलो कुरा गरेपनि कसैले पत्याउने वाला छैन । विवादै विवादको बीचबाट चुनिएको नेतृत्वले यस विषयमा गम्भीर भएर सोच्ने छ, अहिले नसोचे कहिले सोच्ने ?

–लेखक न्युयोर्कबाट प्रकाशन हुँदै आएको पत्रिका एभरेस्ट टाइम्सको प्रधान सम्पादक तथा नेपाल अमेरिका पत्रकार संघ नेजाका पूर्व अध्यक्ष हुन ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : ०२ बजे