११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

अमेरिकासँगको सैन्य सम्झौता फिलिपिन्सद्वारा रद्द



मनिला (एजेन्सी)– फिलिपिन्सले अमेरिकासँगको एक सैन्य सम्झौतालाई रद्द गरेको छ। उसले दुबै देशीबीच सैन्य अभ्यास तथा तालिमसम्बन्धी सम्झौतालाई रद्द गरेको हो।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले लामो समयदेखि सैन्य साझेदार अमेरिकाबाट टाढा हुने र चीनसँग नजिक हुने धम्की दिँदै आएका थिए। त्यहाँको विदेश मन्त्रालयले सो सम्बन्धी औपचारिक जानकारी अमेरिकालाई दिइसकेको आफ्नो ट्वीटरमा उल्लेख गरेको छ।

सूचनापछि यो सम्झौता १८० दिनपछि खारेज हुनेछ। अमेरिकाले फिलिपिन्सको यो कदमले दुई देशको सम्बन्धमा महत्वपूर्ण असर पार्ने प्रतिक्रिया दिएको छ।

गत महिना फिलिफिन्सका राष्ट्रपति दुतेर्तेले देशका एक सासंदको भिसा अमेरिकाले रद्द गरेपछि सो सम्झौता खारेज गर्ने चेतावनी दिएका थिए।

सन् २०१६ मा फिलिपिन्सको सत्तामा आएयता राष्ट्रपति दुतेर्तेले अमेरिकासँगको सैन्य सम्झौता र तिनीहरूको भूमिकाका बारेमा विभिन्न विरोधी भनाइ दिँदै आएका थिए।

सत्तामा आएपछि उनी लागु औषधका दुर्व्यसनी र कारोबारीप्रति हिंस्रकरूपमा उत्रिरहेका छन्। उनले यी दुबै खालेलाई सफाया गर्ने नीति अख्तियार गरेपछि अमेरिका लगायतका देशले त्यहाँको मानव अधिकारका विषयमा प्रश्न उठाउने तथा आलोचना गर्ने गर्दै आइरहेका छन्।

यसैको विरोधस्वरूप अमेरिकाले एक फिलिपिनो सासंदलाई अमेरिका प्रवेशमा रोक लगाउँदै भिसा रद्द गरेपछि राष्ट्रपति रोड्रिगो दुतेर्ते अमेरिकासँग क्षुब्द बनेका छन्। पूर्वी-एसियामा फिलिपिन्स अमेरिकाको एउटा महत्वपूर्ण सामरिक मित्र राष्ट्र रहँदै आएको थियो।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ११ : ५९ बजे