३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

एनआरएनएले ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगितालाई सहयोग गर्ने



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न आयोजना गरिएको ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगितालाई अन्तर्राष्ट्रियकरण गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सहयोग गर्ने भएको छ । आयोजक संस्था वि विल राइज फाउण्डेशन र एनआरएनएबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

भिडियो प्रतियोगिताले ओझेलमा परेका तर प्रचुर पर्यटन सम्भावना बोकेका गाउँठाउँलाई विश्वव्यापी रुपमा चिनाउन तथा दीर्घकालीन रुपमा त्यहाँको सामाजिक–आर्थिक उन्नतिमा टेवा पुर्‍याउन अहम भूमिका निर्वाह गर्ने अपेक्षा गरेको एनआरएनएका उपाध्यक्ष एवं व्यापार, उद्योग तथा नेपाल प्रवर्द्धन विभागका प्रमुख अर्जुन श्रेष्ठले बताए । फाउन्डेशनका अध्यक्ष तथा अभियान संयोजन निर्मल श्रेष्ठले मुलुकको अर्थतन्त्रको मेरुदण्डमध्येको एक पर्यटन भएकाले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएका गाउँठाउँको पहिचान गर्न ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता आयोजना गरेको बताए । प्रतियोगिताले नयाँ पर्यटकीय क्षेत्रको खोजी र नेपाली विशेषतालाई विश्वव्यापी बनाउन सहयोग पुर्‍याउने उनको आशा छ । अभियानमा एनआरएनएको सहकार्यले अन्तर्राष्ट्रियकरण गर्ने अपेक्षा गरेको श्रेष्ठले बताए । एनआरएनएको पहलमा विजेता भिडियोहरुले अन्तर्राष्ट्रिय डबलीमा प्रदर्शनी गर्ने अवसर पनि पाउने विश्वास आफूहरुको रहेको उनले बताए ।

गत वर्षदेखि आयोजना गरिएको यस प्रतियोगितामा सातै प्रदेशबाट १३२ वटा भिडियो प्राप्त भएको आयोजनकले बताएको छ । उक्त प्रतियोगिता नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० सचिवालय र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित थियो । यस वर्ष गण्डकी प्रदेश र एनआरएनए सह–आयोजकका जोडिएका छन् । यसवर्ष सहभागी हुन चाहने प्रतियोगीले डिसेम्बर १ देखि मार्च ९ सम्म आफ्ना भिडियोहरु पठाइसक्नु पर्नेछ । प्रतियोगीहरुले फाउण्डेसनको वेबसाइटमा रेजिष्ट्रेसन फर्म भरी गुगल ड्राइभबाट भिडियो पठाउन सक्नेछन् । निर्णायक मण्डलले आएका भिडियोहरुमध्येबाट १० विधागत अवार्डका लागि ७० भिडियो मनोनयन गर्नेछन् । छनौटमा परेका १० उत्कृष्ट भिडियोहरुलाई आगामी अप्रिलमा बृहत् कार्यक्रम गरी पुरस्कार वितरण गरिनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ८ : ४० बजे