२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

डेमोक्रेटिक प्राइमरीः अमेरिकाका छ राज्यमा मतदान



डिट्रोइट (एजेन्सी)– अमेरिकाको मिसिगन सहित छ वटा राज्यमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार छान्न मतदान सुरु भएको छ । यस चुनावमा पार्टीका दुई वरिष्ट सदस्यहरु जो बाइडेन र बर्नी स्यान्डर्स चुनावी मैदानमा छन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट यी दुई नेतामध्ये एकले रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार भएका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आगामी नोभेम्बरमा चुनावमा भिड्नेछन् ।

चुनाव भइरहेका राज्यहरुमा मिसिगन सहित इडाहो, मिसिसिपी, मिजौरी, नर्थ डकोटा र वासिङ्टन स्टेट रहेका छन् ।

यी छवटा राज्यमध्ये सबैभन्दा बढी पार्टी प्रतिनिधि चुनिने मिसिगनतर्फ दुबै उम्मेदवारले विशेष ध्यान दिएका छन् । अघिल्ला चुनावमा मध्यम प्रदर्शन गरेका स्यान्डर्सले मिसिगनको चुनाव जितेमा मात्र उनलाई भावी यात्रा केही सहज हुनेछ ।

राष्ट्रपतिको चुनावी दौडमा उभिएका सबैजसो उम्मेदवारले बाइडेनलाई समर्थन गरिसकेकाले सिनेटर स्यान्डर्सलाई चुनाव जित्न निकै हम्मे पर्ने आँकलन गरिएको छ । अघिल्लो मंगलबार १४ वटा राज्यमा भएको चुनावमा बाइडेनले १० वटा राज्यमा तथा स्यान्डर्सले ४ वटा राज्यमा विजय हात पारेका थिए ।

यसबाट बाइडेनको पक्ष निकै बलियो भएको थियो ।

मतदानका लागि मतदान स्थलमा पुगेका अधिकांश मतदाताले राष्ट्रपति ट्रम्पलाई परास्त गर्न सक्ने उम्मेदवार छान्नु नै अहिलेको सर्वाधिक महत्वपूर्ण पक्ष रहेको बताएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ९ : ३६ बजे