काठमाडौं– कोरोना संक्रमणमा सावधानी अपनाउन सरकारले वसन्त ऋतुमा हुने हिमाल आरोहण स्थगित गरेको छ । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वसन्त ऋतुमा सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो । कोरना भाइरस संकमणको उच्च जोखिम रहेको भन्दै हिमाल आरोहण स्थगति गर्ने निर्णय भएको हो ।
सरकारले यो सिजनमा सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि अनुमति दिएको थियो । बैठकले यसअघि दिएका अनुमति रद्द गर्ने र नयाँ अनुमति नदिने निर्णय गरेको हो। वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो ।
सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकारलाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण बढेपछि नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पुगेको छ ।
मुलुकको पर्यटनको मुख्य आम्दानी गर्ने पर्वतारोहण क्षेत्रको वसन्त ऋतुमा हुने सबै आरोहण स्थगन गरिए पछि यसले वार्षिक झण्डै ६० करोड राजश्व गुम्ने अवस्था आएको छ । वसन्त ऋतुको मुख्ययाममा हिमाल आरोहण रोकिँदा एक याममा मात्रै राज्यलाई झण्डै ५० करोड नोक्सानी हुने देखिन्छ ।
पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार अघिल्लो वर्ष वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणबाट ४९ करोड ६८ लाख सलामीस्वरुप जम्मा भएको थियो । सगरमाथाबाट मात्रै ४४ करोड २३ लाख राजश्व उठेको थियो । यस वर्ष पनि वसन्त ऋतुमा उल्लेख्य आरोहण हुने अपेक्षा गरिएको थियो ।
विभागका अनुसार अघिल्लो वर्ष सबै यामको आरोहणबाट ५६ करोड राजश्व उठेको थियो । यस वर्ष ६० करोड सलामी उठाउने लक्ष्य थियो । विदेशी नागरिकले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ ।
यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद् ऋतुमा ३७ हजार ५०० र गर्मी याममा १८ हजार २५० सलामी तिर्नुपर्ने व्यवस्था छ । सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ९१८ आरोहीले आरोहण अनुमति लिएकामा ६४४ आरोहीले सफल आरोहण गरेको विभागले जनाएको छ । अघिल्लो वर्ष वैशाख ३० देखि जेठ ११ गतेसम्म सगरमाथा आरोहण भएको थियो ।