२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

रास्वपाका निर्णयहरु: वडा अधिवेशन जेठ ३ र १६ गते, बारा जिल्ला कमिटी विघटन, शिक्षा विभागमा पाण्डे



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा र पालिका तहको अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडा अधिवेशन जेठ ३ र १६ गते तथा पालिका अधिवेशन जेठ १० र १७ गते गर्ने मिति तय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

वैशाख २० गतेभित्र समिति गठन भएका वडाहरूमा जेठ ३ गते अधिवेशन हुनेछ भने जेठ ३ गतेसम्म समिति गठन भएका बाँकी वडाहरूमा जेठ १६ गते अधिवेशन गरिनेछ । त्यसैगरी वैशाख २५ गतेअघि समिति गठन भएका पालिकाहरूमा जेठ १० गते अधिवेशन हुनेछ भने जेठ १० गतेसम्म गठन भएका अन्य पालिकाहरूको अधिवेशन जेठ १७ गते हुनेछ ।

बैठकले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय पनि गरेको छ । साथै जेठ २ गतेसम्म समिति गठन नभएका वडाहरूको भेला बोलाउने र जेठ ९ गतेसम्म समिति गठन नभएका पालिकाहरूको भेला आयोजना गर्ने निर्णय गरिएको छ ।

रास्वपाले बारा जिल्ला समिति विघटन गर्ने निर्णयसमेत गरेको छ । प्रदेश समितिको सिफारिसका आधारमा जिल्ला समिति विघटन गरिएको र अब नयाँ जिल्ला अधिवेशनको तयारी गरिने प्रवक्ता झाले बताए ।

त्यस्तै, पार्टीले केन्द्रीय शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे लाई मनोनित गरेको छ। स्टार्ट–अप विभाग प्रमुखमा डा. प्रभात अधिकारी नियुक्त भएका छन् ।

यसैगरी र्‍यापिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा वैकुण्ठ थापा र उपप्रमुखमा पूर्व डीआईजी विदुर खड्का लाई मनोनयन गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ९ : ३२ बजे