२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

मधेसका भूमिहीनहरु आन्दोलनमा



भूमि तथा आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस प्रदेशका विभिन्न स्थानमा भूमिहीन तथा सुकुम्बासी समुदायले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजनामा धनुषाको ढल्केबर, महोत्तरीको बर्दिबास र रौतहटको चन्द्रनिगाहपुरमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरूले ‘डोजर चलाउन पाइँदैन’, ‘भूमि र आवासको अधिकार सुनिश्चित गर’, ‘उठिबास बन्द गर’ तथा ‘जीवन र जीविकाको अधिकार कायम गर’ लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराएका छन् ।

ढल्केबरमा आयोजित प्रदर्शनमा सहभागीहरूले प्लेकार्डसहित बजार क्षेत्र परिक्रमा गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुम्बासी बस्ती हटाउनुअघि राज्यले वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गरे ।

महोत्तरीको बर्दिबासमा भप्सी खोलाबाट सुरु भएको र्‍याली मुख्य बजार क्षेत्र हुँदै सिन्धुली रोड चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै मञ्चका केन्द्रीय महासचिव फौदसिंह स्याङ्गवाले भूमिहीन परिवारको उचित व्यवस्थापन नगरेसम्म सुकुम्बासी बस्तीमा डोजर प्रयोग नगर्न सरकारसँग आग्रह गरे।

मञ्च महोत्तरीका अध्यक्ष नेत्रबहादुर कार्की (बलराम)ले भूमिहीन र सुकुम्बासीलाई भूमि अधिकार नदिई उठिबास गराउन खोजिए सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

उता रौतहटको चन्द्रनिगाहपुरमा पनि भूमिहीन तथा सुकुम्बासी परिवारले प्रदर्शन गरेका छन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर बाट सुरु भएको र्‍याली बजारका विभिन्न भाग परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।

मञ्च रौतहटका अध्यक्ष अनुप माझीले सरकारको डोजर अभियानका कारण भूमिहीन तथा सुकुम्बासी परिवार त्रसित बनेको बताए । उनले वास्तविक भूमिहीनको पहिचान गरी सुरक्षित बसोवासको व्यवस्था र लालपुर्जा वितरण प्रक्रिया तत्काल अघि बढाउन माग गरे ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ९ : ३६ बजे