काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको एकता र १५औँ महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापतिहरूको बैठकपछि उक्त प्रस्ताव सार्वजनिक गरिएको हो।
बैठकपछि नेता मीन विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टी एकताको विषयमा संस्थापन इतर समूहले अस्वीकार्य माग अघि सारेको भन्ने प्रचारलाई निराधार, मिथ्या र भ्रामक भएको दाबी गरिएको छ।
विज्ञप्तिमा उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत पठाएको प्रस्तावमाथि २०८३ जेठ १८ गते नै औपचारिक छलफल गरी अधिकतम सहमति हुन सक्ने आधारमा आफ्नो पक्षबाट पाँचबुँदे प्रस्ताव पठाइएको उल्लेख गरिएको छ। सोही प्रस्ताव अहिले सार्वजनिक गरिएको हो।
यी हुन् पाँच प्रस्ताव
संस्थापन इतर समूहले सार्वजनिक गरेको प्रस्तावमा निम्न विषय समेटिएका छन्–
- पहिलो, १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनबाट बन्ने कार्यसमितिसँग समायोजन गर्दै सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने।
- दोस्रो, सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने।
- तेस्रो, पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने।
- चौथो, वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू गठन गर्ने।
- पाँचौँ, क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्य गर्न गगनकुमार थापा संयोजक रहेको तत्कालीन समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई स्वतः १५औँ महाधिवेशनमा सहभागी हुने व्यवस्था गर्ने तथा उनीहरूको डिजिटल इन्ट्रीलाई केवल अभिलेखीकरणका रूपमा अघि बढाउने। डिजिटल इन्ट्रीलाई पुनः नवीकरणसँग जोडेर महाधिवेशनमा भाग लिन पाउने–नपाउने आधार नबनाइने प्रस्ताव गरिएको छ।
संस्थापन इतर समूहले यी प्रस्तावहरू पार्टीभित्र सहमति कायम गर्दै एकता र समयमै महाधिवेशन सम्पन्न गर्ने उद्देश्यले अघि सारिएको जनाएको छ। साथै, एकताप्रति आफूहरू सकारात्मक रहे पनि त्यसविपरीत भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेको छ।









