४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

न्युयोर्क पुगे नेतन्याहुलाई पक्राउ गर्ने सम्भावनाबारे मेयर ममदानीको अभिव्यक्ति, कानुनी र राजनीतिक बहस चर्कियो



न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान ममदानीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क आएमा उनलाई पक्राउ गर्ने सम्भावनाबारे आफ्नो कानुनी टोलीले अध्ययन गरिरहेको बताएका छन्। उनको अभिव्यक्तिपछि अमेरिका र अन्तर्राष्ट्रिय समुदायमा कानुनी तथा राजनीतिक बहस सुरु भएको छ।

द न्यूयोर्क टाइम्सको पोडकास्ट द इन्टरभ्यु मा बोल्दै ममदानीले नेतन्याहुको सम्भावित गिरफ्तारीका कानुनी पक्षबारे नगरको कानुनी विभागसँग सक्रिय छलफल भइरहेको बताए। उनले चुनावी अभियानका क्रममा पनि नेतन्याहुलाई पक्राउ गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

ममदानीले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले नेतन्याहुविरुद्ध जारी गरेको पक्राउ पुर्जी उल्लेख गर्दै उनी युद्ध अपराधको अभियोग सामना गरिरहेका व्यक्ति भएकाले यस विषयमा कानुनी विकल्पबारे अध्ययन भइरहेको बताए। तर उनले आफू कानुनभन्दा बाहिर गएर कुनै कदम चाल्ने पक्षमा नरहेको स्पष्ट पारे।

आईसीसीले सन् २०२४ मा नेतन्याहुसहित केही इजरायली नेताविरुद्ध गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो। यद्यपि अमेरिका आईसीसी स्थापना गर्ने रोम विधानको पक्षधर राष्ट्र होइन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले पनि उक्त पक्राउ पुर्जीको आलोचना गरेका थिए।

अमेरिकी राजदूतको प्रतिवाद

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले ममदानीको अभिव्यक्तिको सार्वजनिक रूपमा खण्डन गर्दै न्युयोर्कका मेयरसँग नेतन्याहुलाई पक्राउ गर्ने कानुनी अधिकार नभएको बताएका छन्।

उनले सामाजिक सञ्जाल एक्समार्फत चार प्रमुख कारण प्रस्तुत गरेका छन्। उनका अनुसार अमेरिका आईसीसीको सदस्य राष्ट्र नभएकाले त्यसको पक्राउ पुर्जी कार्यान्वयन गर्न बाध्य छैन। साथै, संयुक्त राष्ट्रसंघको मुख्यालय सम्झौताअनुसार महासभामा सहभागी हुन आउने विदेशी सरकार प्रमुखलाई कूटनीतिक सुरक्षा प्राप्त हुन्छ। त्यस्तै, राष्ट्र वा सरकार प्रमुखलाई अन्तर्राष्ट्रिय कानुनले प्रदान गर्ने उन्मुक्ति लागू हुने र यस्ता विषय संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भएकाले स्थानीय प्रशासनले हस्तक्षेप गर्न नसक्ने उनको भनाइ छ।

इजरायलको कडा प्रतिक्रिया

संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डानोनले ममदानीको अभिव्यक्तिलाई “राजनीतिक प्रचार” को संज्ञा दिएका छन्। उनले मेयरले न्युयोर्कका स्थानीय समस्याभन्दा इजरायलविरुद्ध विवाद सिर्जना गर्न खोजेको आरोप लगाए।

डानोनले नेतन्याहु निर्धारित कार्यक्रमअनुसार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने र इजरायलको सुरक्षा तथा नीतिबारे सम्बोधन गर्ने बताए।

यस्तै, अमेरिकाका लागि इजरायलका पूर्वराजदूत डान सापिरोले नेतन्याहुलाई पक्राउ गर्ने असफल प्रयास भए त्यसले उल्टै इजरायलभित्र उनलाई राजनीतिक सहानुभूति दिलाउने र त्यसबाट उनको राजनीतिक लाभ हुन सक्ने टिप्पणी गरेका छन्।

मानव अधिकारकर्मी तथा इजरायल–अस्ट्रेलिया यहुदी परिषद्का अध्यक्ष आर्सेन ओस्ट्रोव्स्कीले पनि ममदानीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय कानुन, अमेरिकी कानुन र मेयरको अधिकार क्षेत्रबारे गम्भीर भ्रम झल्काएको दाबी गरेका छन्।

नेतन्याहुको आरोप

यसैबीच रेडियो प्रस्तोता सिड रोजेनबर्गसँगको अन्तर्वार्तामा प्रधानमन्त्री नेतन्याहुले मेयर ममदानीमाथि हमासप्रति सहानुभूति राखेको आरोप लगाएका छन्।

नेतन्याहुले ममदानीले इजरायलको आलोचना गर्दै हमासप्रति नरम दृष्टिकोण अपनाएको दाबी गर्दै इजरायल अमेरिकी लोकतान्त्रिक मूल्यहरूको साझेदार रहेको बताएका छन्। उनले ममदानीको अभिव्यक्तिलाई इजरायलविरोधी मात्र नभई अमेरिकाविरोधी सोचसँग पनि जोडेर टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा व्यापक बहस

ममदानीको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। समर्थकहरूले आईसीसीको आदेश कार्यान्वयन गर्नुपर्ने नैतिक दायित्वको पक्षमा तर्क गरिरहेका छन् भने आलोचकहरूले न्युयोर्कका मेयरसँग विदेशी सरकार प्रमुखलाई पक्राउ गर्ने कुनै संवैधानिक वा कानुनी अधिकार नरहेको र यस्तो विषय पूर्ण रूपमा अमेरिकी संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने बताएका छन्।

यस विषयमा हालसम्म न्युयोर्क सहर प्रशासनले कुनै औपचारिक कानुनी निर्णय सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १२ : २३ बजे