२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

माइतीघर आन्दोलनका तीन जेनजी अभियानी धरौटी बुझाउन नसक्दा जेल चलान



माइतीघर मण्डलमा लघुवित्त ऋणीहरूको आन्दोलनका क्रममा पक्राउ परेका तीन जना जेनजी अभियानीसँग जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिव्यक्ति एक लाख रूपैयाँ धरौटी माग गरेको छ । तोकिएको धरौटी रकम तिर्न नसक्ने बताएपछि प्रशासन कार्यालयले उनीहरूलाई बुधबार सुन्धारास्थित कारागारमा पठाउने आदेश दिएको हो ।

सार्वजनिक शान्तिविरूद्धको कसुरमा गत साउन १३ गते साँझ माइतीघर मण्डलबाट प्रहरीको नियन्त्रणमा परेका अभियानीहरू अजय सोडारी, प्रकाश बम र सुनिल बिक सोही दिनदेखि नै थुनामा थिए । माइतीघरमा आन्दोलनरत लघुवित्त ऋणीहरूलाई उक्साएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले धरौटी रकम बुझाउन नसकेपछि उनीहरूलाई नियमअनुसार थुनामा पठाइएको पुष्टि गरे । उनका अनुसार यो प्रमुख जिल्ला अधिकारी (सिडिओ) स्वयंले हेर्ने नियमित प्रक्रियाअन्तर्गतको मुद्दा हो र धरौटी नबुझाएकाले उनीहरूलाई थुनामा राखिएको हो ।

यता अभियानी अजय सोडारीको समूहकी प्रतिनिधि सुप्रिया नेपालीका अनुसार सुरूमा प्रतिव्यक्ति १० हजार रूपैयाँ धरौटीमा छाड्ने कुरा भएको थियो । विद्यार्थी भएकाले १० हजार रूपैयाँ पनि तिर्न नसक्ने भनी सिडिओसँग कुरा राखेपछि एक्कासि प्रतिव्यक्ति एक लाख रूपैयाँ धरौटी तोकिएको खबर आएको उनले बताइन् । एक लाख धरौटी तोकिएपछि यसबारे पुन: कुरा गर्न सिडिओलाई भेट्न खोज्दा कार्यालय बन्द भइसकेको भन्दै प्रवेश गर्न नदिइएको र जेनजी अभियानीहरूमाथि माथिको आदेश भन्दै प्रतिशोध साधेर थुनामा राखिएको दाबी उनले गरेकी छन् ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ९ : ५४ बजे