काठमाडौँ । न्यूनतम पारिश्रमिकको सुनिश्चितता र श्रम शोषण अन्त्यसहित १५ बुँदे माग राखेर साउन १४ गतेदेखि अनसनरत नर्स ज्योति रानाभाटले बुधबार अनसन तोडेकी छन् ।
सरकारी वार्ता टोलीसँग १९ बुँदे सहमति भएपछि उनले अनसन स्थगित गरेकी हुन्। अनसनका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई वीर अस्पतालको आईसीयूमा राखेर उपचार गराइँदै आएको थियो। सरकारले माग सम्बोधन नगरेपछि मंगलबार उनको समर्थनमा नर्सहरूले अस्पताल परिसरमा प्रदर्शनसमेत गरेका थिए।
सोमबारदेखि निरन्तर जारी वार्तापछि दुवै पक्ष सहमतिमा पुगेका हुन्। सहमतिपत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा मिडवाइफहरूको न्यूनतम पारिश्रमिक र सम्मानजनक सेवा-सर्त निर्धारण गर्न मन्त्रालयले सात दिनभित्र कार्यदल गठन गरी छ महिनाभित्र काम सम्पन्न गर्नेछ। साथै, छात्रवृत्तिमा पढेका नर्स तथा मिडवाइफहरूको योग्यता र विशेषज्ञताअनुसार तह, जिम्मेवारी र सेवा-सुविधा समेट्न ‘स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७२’ लाई ३० दिनभित्र संशोधन गरिनेछ।
यस्तै, मिडवाइफ (अनमी) हरूलाई प्रवीणता प्रमाणपत्र तह अध्ययनका लागि छात्रवृत्ति सुनिश्चित गर्न र CTEVT को प्रवेश परीक्षा मिति तय गर्न आवश्यक कदम चालिने भएको छ। सम्पूर्ण अस्पतालहरूमा नर्सिङ Care Plan र बिरामी सुरक्षा mandatory रूपमा लागू गरिनेछ भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनबमोजिम अनुगमनका लागि मन्त्रालयले सात दिनभित्र परिपत्र जारी गर्नेछ।









