१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

इन्डोनेसियामा डु्ङ्गा पल्टिदा दश जना बेपत्ता



एजेन्सी– इन्डोनेसियाको पश्चिमी भू–भागमा पर्ने प्रान्तमा रियाउ २० जना यात्रु सवार रहेको एक डुङ्गा दुर्घटना हुदा कम्तीमा दश यात्रु बेपत्ता भएका उद्धारकर्ताले जनाएका छन् ।

इन्डोनेसियाली कामदारहरु बोकेर मलेसियातर्फ जान लागेको सो डुङ्गा बुधबार साँझ रुपाट टापू नजिक डुबेको प्रान्तीय खोजी तथा उद्धार कार्यालयका प्रमुख इशक ताहिरले बताए । स्थानीय नाविकहरुले उद्धार गरेपछि १० जना कामदार दुर्घटनाबाट बचेका पनि उनले बताए ।

हराएका यात्रुहरुको खोजी र उद्धार भइरहेको बताइएको छ । यस उद्धारकार्यमा सुरक्षाकर्मी र उद्धार कार्यालयका कर्मचारीहरु लागेका छन् । त्यसैगरी मलेसियाबाट पनि उद्धारकर्मीहरुको सहभागीता रहेको जनाइएको छ ।

उक्त उद्धार तथा खोजी अभियान रुपाउ टापूको उत्तरी र पूर्वी भागमा पर्ने इलाकामा पनि भएको समाचारहरुमा जनाइएको छ ।

मलेसियाका उद्धारकर्ताहरुलाई रुपाउ द्वीपको सिमानामा र मलेसियातर्फको जलक्षेत्रमा पनि खोजी गरी सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । इन्डोनेसियाको विशाल द्वीपहरुमा आवतजावतको लागि यातायातको प्रमुख साधन डुङ्गा नै भएको तर सुरक्षा मापदण्डको अभावमा बारम्बार समुद्रमा दुर्घटना हुने गरेको पाइन्छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहिबार  १ : २५ बजे