१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

ड्यालसमा सम्झिए नारायण गोपाल


२१ बैशाख २०७५, शुक्रबार  

0
Shares

ड्यालस (अमेरिका) – नत नारायण गोपालको जन्मदिन । नत उनको स्मृति दिवस । तर पनि अमेरिकाको ड्यालसमा रहेका नेपालीहरूले आइतवार साँझ स्व. स्वर सम्राट नारायण गोपाललाई सम्झिए । उनको सम्झनामा उनले गाएका गीत गाए । उनीसँगको स्मृतिलाई अगाडि ल्याए र उपस्थित समूदायसँग साटासाट गरे ।

स्रष्टा मञ्च ड्यालस र हिमालय खबरले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा आइतवार उनलाई धेरैले सम्झिए । वयोवृद्धदेखि लिएर पाँच वर्षीय बालकलेसमेत उनले गाएका गीतहरू गाए ।

नारायण गोपालले धर्तीबाट बिदा लिएको पनि २७ वर्ष पुरा भैसकेको छ । २०४७ मंसिरमा निधन भएका स्वर सम्राटलाई सझिनुको कारणबारे हिमालय खबरका सल्लाहकार सम्पादक शैलेश आचार्यले भने–‘हामीले समाजलाई गतिलो योगदान गरेकालाई सधैंभरि सम्झिरहनुपर्छ । जन्मदिन र निधन भएको दिनमा मात्र होइन । त्यही भएर हामीले नत उनको जन्मदिन, नत उनको निधन भएको दिन, आजै कार्यक्रम गरिरहेका छौँ ।’

आचार्यले नारायण गोपालसँग गरेका संगत, उनका गीतका बारेमा चर्चा गरेका थिए ।

त्यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार विनोदमणि दीक्षितले नारायण गोपालसँग अध्ययन गर्दाको स्मरण सुनाएका थिए ।

स्व. नारायण गोपालले गाएको ‘वीरताको चिनो, वीरको सन्तान…’ बोलको गीतलाई स्थानीय गायक भीम चापागाईले सुरुवातमै गाएर कार्यक्रमको रौनकता सुरु गरेका थिए । त्यसपछि टुङ्गनाथ उपाध्यायले नारायण गोपालले गाएका आधा दर्जन गीत प्रस्तुत गरेका थिए । उनले ‘मेरो वेहोशी आज’, ‘पोखिएर घामका झुल्का..’, ‘मैले पुण्य मन पराए, या पाप मन पराएँ..’ लगायतका चर्चित गीत गाएका थिए ।

त्यस्तै स्थानीय गायीका समीक्षा दाहालले ‘यति चोखो यति मिठो दिउँला तिमीलाई माया..’ बोलको गीत गाउँदा हल पुरै सन्नाटा छाएको थियो । त्यस्तै हास्य कलाकार नारायण त्रिपाठी, गणेश थापा, सीमा पोखरेल लगायत दर्जनौँले नारायण गोपालको स्मृतिमा उनीद्वारा गाइएका गीतहरू गाएका थिए ।

कोलोराडोबाट आएकी सीमा पोखरेलले नारायण गोपालसँग संगीत सिक्दाको अनुभव साटेकी थिइन् । सुरुवातमा उनले ‘एउटा मान्छेको मायाले कति..’ बोलको गीत गाएकी थिइन् ।

साँझ ६ बजेदेखि सुरु भएको कार्यक्रम लगातार ९ बजेसम्म चलेको थियो । स्थानीय समुदाय उनका गीत सुन्न निकै ढिलासम्म पनि बसेका थिए । युलेसस्थित फिस्टेल रेष्टँुरामा आयोजित कार्यक्रममा स्रष्टा मञ्चका प्रभात दीक्षितले उपस्थितहरूको स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्वेश्य बारेमा प्रकाश पारेका थिए ।

स्रष्टा मञ्चले हरेक महिना साहित्यिक तथा सांगितीक माहौल आयोजना गरेर ड्यालसलाई तताउने काम गर्दै आएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार  १० : १८ बजे