७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

विश्वभरिका ह्योल्मोहरुले सोनम ल्होसार भव्य रुपमा मनाउदै ।


Ang

२ माघ २०७४, मंगलबार  

0
Shares

आदिबासी ह्योल्मो जातिले शताब्दीऔ देखि सोनाम ल्होसारलाई आफनो महान चाढको रुपमा मान्दै आएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाबाट शुरुभई पूर्णिमा सम्म सोनम ल्होसारलाई हर्षोल्लासका साथ मनाउने परम्परा छ । सोही परम्परालाई निरन्तता दिदै यस वर्ष पनि विश्वभर छरिएर रहेका ह्योल्मो समुदायले धार्मिक तथा सास्कृतिक कार्यक्रमहरुको आयोजना गरी भव्यताका साथ सोनम ल्होसार मनाईदै छ । ह्योल्मो समुदायले मनाउदै आएका सोनम ल्होसार यस पटक बुधाबार परेको छ । सोनम ल्होसारको आगमनसंगै विभिन्न मुलुकमा रहेको ह्योल्मोहरुले विगत झै यसपटक भव्यताका साथ सोनम ल्होसार मनाउदै छन । गाउमा मौलिक परम्परागत रुपमा मनाउदै आएको ह्योल्मो ल्होसार राजधानी काठमाडौमा मौलिक ढंगबाट मनाउदै आएका छन । हरेक वर्ष झै यस पटक पनि राजधानीबासी ह्योल्मोहरु सोनम ल्होसारको पञ्चमीको दिन ह्योल्मो जातिको आस्थाको केन्द्र, ह्योल्मो समाज सेवा केन्द्रको ह्योल्मो गुम्बामा भेला भई पुजापाठ गरी एक आपासमा शुभकामना आदानप्रदान गरि सोनम ल्होसारको ल्हाप्सो कार्यक्रम आयोजना गर्ने भएको छ । यस पटक पनि पुजामा ह्योल्मो समुदायका धर्मगुरु श्रदय ङवाङ तेन्जिङ रिन्पोक्षेज्यूको उपस्थितिमा विविध धार्मिक, सास्कृतिक तथा पारम्परिक गतिविधिकासाथ ल्होसार ल्हाप्सो कार्यक्रम आयोजना गरिने ह्योल्मो समाज सेवा केन्द्र अन्तर्गत गठित ल्हाप्सो व्यवस्थापन समितिले जनाएको छ । यो ल्होसार काठमाडौ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, कास्की, लम्जुङ, रामेछाप, गोरखा, चितवान, नवलपरासी, ईलाम, ईटहरी आदि स्थानहरुमा बसोबास गदै आइरहेको ह्योल्मोहरु सोनम ल्होसारको अवसरमा विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ ल्होसार मनाउदै छन् । नेपाल बाहिर कहा कहा कसरी मनाउदै छ ।

 

अमेरिकामा ह्योल्मो सोनम ल्होसार

नेपालपछिको धेरै ह्योल्मोहरुको जनसंख्या भएको अमेरिकामा पनि ह्योल्मो समुदायको साझा सस्था ह्योल्मो सोसाईटी अफ अमेरिकाले पनि विभिन्न कार्यक्रमको साथ सोनम ल्होसार मनाउने भएको छ । यस पटक पनि ल्होसारको पहिलो दिन सोसाइटीले आफनै सामुदायिक भवनमा ल्होसार ल्हाप्सो तथा जनवरी २७ तारिख न्यूयोर्क शहरको लङ आईल्यान्ड सिटीमा अवस्थित फाईब स्टार व्यांक्वाटमा विविध साास्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सहित भव्य रुपमा सोनम ल्होसार पार्टी आयोजना गर्ने भएको छ । सोसाईटीका अध्यक्ष दावा ल्होबा ह्योल्मोका अनुसार यस वर्षदेखि सोनम ल्होसारको पहिलो दिन आ आफनै घरमा ल्होसारको शुभारम्भ पुजापाठ तथा धेर्का खाईसके पछि सबैजना ह्योल्मो कम्यूनिटी सेन्टरमा भेला भई ल्हाप्सो कार्यक्रम गर्ने भएको छ । ह्योल्मोहरुको बाक्लो बस्ती रहेका अन्य अमेरिकी राज्यहरु क्यालिफोर्निया, भर्जिनिया, वर्मन र बोस्टनमा पनि ह्योल्मो जातिको परम्परागत संस्कारसहित विविध कार्यक्रमहरु आयोजना गरी ल्होसार मनाउदै छन् ।

यूकेमा ह्योल्मो सोनम ल्होसार

संयुक्त अधिराज्य बेलायत, यूकेमा ह्योल्मो समाज यूकेको आयोजनामा यही जनवरी २१ को दिन एक भव्य कार्यक्रमको आयोजना गरी ह्योल्मो सोनम ल्होसार मनाउने भएको छ । यूकेमा बसोबास गर्ने आम ह्योल्मोहरु यस वर्ष एक ठाउमा भेला भई विविध साास्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सहित सोनम ल्होसार मनाउन लागिएको बताईएको छ ।
इजराइलमा सोनम ल्होसार कार्यक्रम ।

इजरायलमा ह्योल्मो सोनम ल्होसार

विगत केही वर्षयता नेपालबाट ह्योल्मोका कलाकारहरु आमन्त्रण गरी भव्यरुपमा सोनम ल्होसार कार्यक्रम आयोजना गर्दै आएको ह्योल्मो समाज इजरायले यस वर्ष जनवरी २० को दिन इजरायलको राजधानी तेलअभिबमा एक भव्य कार्यक्रमको आयोजना गरी ह्योल्मो सोनम ल्होसार मनाउन लागिएको छ । ह्योल्मो समाज इजरायलले जारी गरेको विज्ञाप्तिमा यस वर्षको ल्होसार कार्यक्रमलाई भव्य र मनोरञ्जनामक बनाउन नेपालबाट ह्योल्मोका ख्यतिप्राप्त नृत्यांगना तथा नृत्यप्रशिक्षक सुश्री पेमा दिकी ह्योल्मो तथा अर्का गायक फुर्बा स्याङबा ह्योल्मोलाई आमन्त्रण गरिएको जनाएको छ । कार्यक्रमलाई थप आर्कषक बनाउन आईफोन, ट्याब्लेट तथा साउण्ड सिस्टमहरु पुरस्कारमा रहेको भाग्यशाली र्‍याफल चिठा कार्यक्रम पनि समावेश रहेको ह्योल्मो समाज इजरायलका अध्यक्ष सुश्री पेम्बा डोल्मा ह्योल्मोले जानकारी दिएको छ ।

दक्षिण कोरियामा ह्योल्मो सोनम ल्होसार

ह्योल्मो सोनम ल्होसारको पहिलो दिन दक्षिण कोरियाको सोलमा अवस्थित ह्योल्मो घरमा विविध पुजापाठ तथा सास्कृतिक कार्यक्रमहरु सहित सोनम ल्होसार ल्हाप्सो कार्यक्रम गर्ने र ल्होसारको मूख्य पार्टी भने फेब्रुवरी १५ मा आयोजना गर्ने भएको छ । ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष पेम्बा दोङबा ह्योल्मोले दिएको जानकारी अनुसार कोरियामा बसोबास गरिरहेका आम ह्योल्मोहरुको विदा अनुकुलतालाई मध्यनजर गरेर सोनम ल्होसार पार्टी भने फेब्रुवरी १५ मा राखिएको हो । दक्षिण कोरियामा कार्यरत ह्योल्मोहरुलाई आवश्यक परेको बेला केही समयावधीको लागि आवासको सुविधा दिन तथा ह्योल्मो सम्पर्क समितिको कार्यसम्पादनको लागि समेत प्रयोगमा ल्याउनको लागि गत वर्षदेखि ह्योल्मो हाउस अर्थात ह्योल्मोको स्थापना गरिएको हो ।

क्यानाडामा ह्योल्मो सोनम ल्होसार ।

क्यानाडामा ह्योल्मो जातिको जनसंख्या बृद्धिसंगै हरेक वर्ष आफनो संस्कार र परम्परा अनुसार त्यहा बसोबास गर्ने ह्योल्मोहरुले सोनम ल्होसार मनाउदै आएको छ । यस वर्ष पनि विविध पुजाआजा र साास्कृतिक कार्यक्रमहरु सहित ह्योल्मो सोनम ल्होसार मनाउने तयारी भईरहेको क्यानाडा निवासी समाज सेवी केसाङ गाङबा ह्योल्मोले जानकारी दिएको छ ।

पोर्तुगालमा ह्योल्मो सोनम ल्होसार ।

पोर्तुगालमा बसोबास गरिरहेका ह्योल्मोहरुले यही जनवरी २१ आईतबारको दिन पोर्तुगालको राजधानी लिस्बनमा सोनम ल्होसार कार्यक्रम आयोजना गर्ने भएको छ । दिउसो २ बजेबाट शुरु हुने ह्योल्मो सोनम ल्होसार कार्यक्रम विविध धार्मिक, साास्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको साथमा डि जे पार्टी सहित मनोरञ्जन गरिने ह्योल्मो समाज पोर्तुगलले जारी गरेको ल्होसार सम्बन्धी सूचनामा जनाएको छ । यसको साथै साईप्रस, डेन्मार्क, कुवेत, साउदी अरब, मलेसिया, अस्ट्रेलिया, भारतको दार्जेलिङ, अछाम, सिक्किम लगायतका ठाउमा ह्योल्मो ल्होसार मनाउने तयारी गरिरहेका छन् ।

 

प्रकाशित मिति : २ माघ २०७४, मंगलबार  १२ : ४० बजे