न्युयोर्क । विवादकाबिच नेपाल डे परेड २०१८ मे २० मा न्युयोर्कको म्यानहटनमा हुने भएको छ । परेड–२०१८ का कन्भेनर रविकिरण कोइाला, परेड–२०१७ का कन्भेनर मंगलदास श्रेष्ठ र परेड–२०१६ का कन्भेनर लुईसाङ वाईवा तामाङद्वारा संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै यसपटकको परेड मे २० मा हुने जनाएको हो ।
‘जाऔं है म्यानहटन’ नाराका साथ आयोजक नेपाल डे परेडले सबैलाई परेडमा सहभागी हुन आह्वान गरेको छ ।
नेपाल डे परेड २०१६ सालदेखि न्युयोर्क शहरमा शुरुवात गरिएको नेपाली डायस्पोराको संयुक्त अभियान भएको र प्रवासमा नेपाल र नेपालीको पहिचानलाई गरिमामय ढंगले उच्च राख्नको निम्ति यसका परिकल्पना गर्नेहरुको रहेको आयोजकले जनाएको छ ।
परेड फिप्नाको कार्यक्रम नभएको तथ्यलाई फिप्नाका वर्तमान अध्यक्षले स्विकार गरिसकेको दाबी गर्दै आयोजकले फिप्नाबाटसमेत सहयोग मिल्ने अपेक्षा गरेका छ ।
आर्थिक प्रतिवेदन स्टेरिङ कमिटिले अनुमोदन गरिसकेकोले यसलाई थप विवादित बनाइरहन आवश्यक नरहेको तर्क गर्दै आयोजकले विज्ञप्तिमा भनेको छ, ‘पहिलो र दोश्रो परेडबाट संकलित रकमको वचत नेपाल डे परेडको खातामा सुरक्षित छ । सरोकारवाला कसैले हेर्न चाहेमा सम्बन्धित निकायसँग समन्वय गरेर कुनै पनि समय हेर्न सकिनेछ ।’
त्यसैगरी आयोजकले संस्था दर्ताबारे पनि विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल डे परेड डायस्पोराका नेपालीहरुको साझा अभियान हो । यो अभियानलाई कानुनी तथा ब्यबहारिक सार्थकता दिनको निम्ति “नेपाल डे परेड” लाई संस्थाको रुपमा दर्ता गरिएको हो । परेडको अनुमतिपत्र र बैंकिङ कारोबार गर्नको निम्ति साथै परेड आयोजकको बारेमा कहीं कतै अन्योलता नछाओस् भन्ने उद्देश्यले नेपाल डे परेड संस्था दर्ता गरिएको हो । यो संस्था ५०१ (सी)३ अन्तरगत नन् प्रफिट संस्थाको रुपमा दर्ता छ जसरी डायस्पोराका धेरै संस्थाहरु दर्ता छन् ।’
नेपाल डे परेडको बोर्ड गठन गरी विधानअनुसार गठन बोर्डले हरेक वर्षको लागि परेडको स्टेरिङ कमिटि गठन गर्नेसमेत आयोजकले जनाएको छ । आयोजकले यसपटक नेपाल डे परेड २०१८ को कन्भेनरमा रविकिरण कोइरालालाई सर्वसम्मत चयन गरेको जनाएको छ ।
यसैगरी आयोजकले यसअघिको परेडको खर्च विवरणसमेत सार्वजनिक गरेको छ ।
विज्ञप्ति जस्ताको तस्तै
मिति: अप्रिल १७, २०१८
प्रेस बिज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,
नमस्कार ।
नेपाल डे परेड २०१६ साल देखि न्युयोर्क शहरमा शुरुवात गरिएको नेपाली डायस्पोराको संयुक्त अभियान हो । प्रवासमा नेपाल र नेपालीको पहिचानलाई गरिमामय ढंगले उच्च राख्नको निम्ति यसका परिकल्पना गर्नेहरुको उद्धेश्य थियो र रहीआएको छ । तसर्थ, कुनै आग्रह अथवा पूर्वाग्रह विना सांगठानिक रुपमा विविधता भएका सबै खालका नेपाली संघ-संस्थाहरुको सामुहिक अभियानको रुपमा नेपाल डे परेडलाई गत दुई वर्षदेखि निरन्तरता दिइरहेका छौ । यो गौरबशाली अभियानलाई प्रारम्भ गर्ने क्रममा फिप्नाका तत्कालिन अध्यक्ष लुईसाङ वाईवा तामाङको कन्भेनरसिपमा पहिलो नेपाल डे परेड सम्पन भएको हो । नेपाल डे परेड संयुक्त अभियान भएकोले सबै संघ-संस्थाका प्रतिनिधि एवं समाजका स्वतन्त्र व्यक्तित्वहरु स्टेरिंग कमिटिमा रहेर एतिहासिक दुई परेडहरु सम्पन्न भएको छ । परेडको मुख्य ब्यानरमा “नेपाली अमेरिकी समुदाय” परेडको आयोजक रहेको स्पष्ट लेखिएको त्यस्ता दस्तावेज अझै पनि जो कोहिले संकलन गर्न चाहेमा प्राप्त गर्न सकिन्छ । तथापी तत्कालिन फिप्नाको अध्यक्ष/कन्भेनरको सहमतिमा अस्थायी प्रयोजनको लागि फिप्नाको नन् प्रफिट स्टाटस् परेडको निम्ति प्रयोग गरिएको थियो । तर यसको अर्थ नेपाल डे परेड फिप्नाको निजि र एकल कार्यक्रम भने थिएन । अस्थायी प्रयोजनको लागि सहमति अनुसार परेडको प्राविधिक आवश्यकता परिपूर्ति गर्नको निम्ति फिप्नाको नन् प्रफिट स्टाटस् उपयोग गरिएको थियो । परेड फिप्नाको कार्यक्रम नभएको तथ्यलाई फिप्नाका वर्तमान अध्यक्षले एउटा बैठकमा स्वीकार गर्नु भएको छ । यसको अर्थ नेपाल डे परेडमा फिप्नाको कुनै महत्व छैन भन्ने पनि होइन । परेड हामी सबै नेपालीहरुको साझा अभियान हो । यो नेपाली डायस्पोराको पहिचान मात्र नभएर हाम्रो सम्पदा पनि हो ।
आर्थिक प्रतिवेदन सम्बन्धमा :
केहिस समयदेखि नेपाल डे परेडको आर्थिक पाटोलाई लिएर एउटा समूहले नकारात्मक भ्रम सृजना गर्ने कोसिश भइरहेको छ । आयोजकले आर्थिक अनियमितता गरेको एक पक्षीय आरोप लगाइएको छ जहाँ कुनै प्रमाण नै छैन । पहिलो परेडको अडिट रिपोर्ट पहिलो परेडको स्टेरिङ कमिटीले अनुमोदन गरेको छ भने दोश्रो परेडको अडिट रिपोर्ट दोश्रो परेडको स्टेरिङ कमिटिले अनुमोदन गरिसकेको छ । यसरी अधिकारिक निकायले अनुमोदन गरिसकेको आर्थिक प्रतिवेदनलाई सामाजिक संजाल मार्फत अपारदर्शिता र अनियमितताको कुतर्क गर्नु अनैतिक मात्र नभएर एक खालको अराजकता नै हो । सम्बन्धित निकायसँग सरोकारवालाले औपचारिक अनुरोध गरेको खण्डमा आर्थिक प्रतिवेदनको एक प्रति उपलब्ध गराउन परेडको स्टेरिङ कमिटीलाई कुनै आपत्ति रहन्न थियो । तथापी २०१६/२०१७ को संयुक्त स्मारिका प्रकाशन गर्ने क्रममा आर्थिक प्रतिवेदनलाई स्मारिका मार्फत सार्बजनिक गर्ने योजना रहेकोले सोचे जस्तो छिटो छरितो नभएको मात्र हो । तर यसलाई अनियमत्ताको संज्ञा दिइनु पाईन्न । पहिलो र दोश्रो परेडबाट संकलित रकमको वचत नेपाल डे परेडको खातामा सुरक्षित छ । सरोकारवाला कसैले हेर्न चाहेमा सम्बन्धित निकायसँग समन्वय गरेर कुनै पनि समय हेर्न सकिनेछ ।
नेपाल डे परेड संस्था दर्ता सम्बन्धमा:
नेपाल डे परेड डायस्पोराका नेपालीहरुको साझा अभियान हो । यो अभियानलाई कानुनी तथा ब्यबहारिक सार्थकता दिनको निम्ति “नेपाल डे परेड” लाई संस्थाको रुपमा दर्ता गरिएको हो । परेडको अनुमति-पत्र र बैंकिङ कारोबार गर्नको निम्ति साथै परेड आयोजकको बारेमा कहीं कतै अन्योलता नछाओस् भन्ने उद्देश्यले नेपाल डे परेड संस्था दर्ता गरिएको हो । यो संस्था ५०१ (सी)३ अन्तरगत नन् प्रफिट संस्थाको रुपमा दर्ता छ जसरी डायस्पोराका धेरै संस्थाहरु दर्ता छन् ।
संस्था संचालन सम्बन्धमा:
नेपाल डे परेडको बोर्ड गठन गरिने छ जहाँ डायस्पोराका विभिन्न क्षेत्रबाट स्थानीय व्यक्तित्वहरु संग्लग्न हुने छन् । विधान अनुसार गठन हुने यो बोर्डले हरेक वर्षको लागि परेडको स्टेरिङ कमिटि गठन गर्ने छ जसले परेडको आयोजना गर्ने छ । यो संस्थाले वार्षिक रुपमा एक मात्र कार्यक्रम गर्ने छ – त्यो हो “नेपाल डे परेड” ।
नेपाल डे परेड २०१८ स्टेरिङ कमिटी सम्बन्धमा:
नेपाल डे परेडको स्टेरिङ कमिटी परेड आयोजनाको लागि गठन गर्ने गरिएको छ । हाम्रो यो सामुहिक अभियानलाई सामुहिक नेतृत्व मार्फत २०१६ साल देखि सम्पन्न गर्दै आएका छौ ।पहिलो परेड २०१६ को स्टेरिङ कमिटीले दोश्रो परेड २०१७ को स्टेरिङ कमिटी गठन गरेको हो भने दोश्रोले तेश्रो परेड २०१८ को स्टेरिङ कमिटि गठन गरेको छ । रविकिरण कोइराला तेश्रो नेपाल डे परेड २०१८ को कन्भेनर सर्बसहमति ढंगले चयन भएका हुन् ।
धन्यवाद ।
- रविकिरण कोइराला
कन्भेनर, नेपाल डे परेड २०१८
- मंगलदास श्रेष्ठ
कन्भेनर, नेपाल डे परेड २०१७
- लुईसाङ वाईवा तामाङ
कन्भेनर, नेपाल डे परेड २०१६
नेपाल डे परेड २०१६ को आयव्यायका लागि यहाँ क्लिक गर्नुस
नेपाल डे परेड २०१७ को आयव्यायका लागि यहाँ क्लिक गर्नुस