न्युयोर्क । जन सम्पर्क समिति न्युयोर्क च्याप्टरका दुई समूहले गत हप्ता दुई फरकफरक स्थानमा पिकनिक कार्यक्रम आयोजना ग¥यो । जन सम्पर्क समिति न्युयोर्क च्याप्टरभित्र बढ्दै गएको विवादको कारण दुई समूहले छुट्टछुट्टै पिकनिक आयोजना गरेका हुन् ।
च्याप्टरका उपाध्यक्ष अमर तामाङको संयोजनमा क्वीन्सब्रिज पार्कमा र वरिष्ठ उपाध्यक्ष कमला पन्तको संयोजनमा कोरोना पार्कमा पिकनिक भयो । क्वीन्सब्रिजमा जन सम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, महासचिव मुनिन्द्र नेम्वाङ पुगेका थिए भने कोरोनामा विष्णु सुवेदी, प्रमोद सिटौला, बेद खरेल र अनन्त सुवेदीलगायतको उपस्थिति थियो ।
दुबैतिर राम्रो आथित्य सत्कार रहेको पिकनिकमा न्युयोर्कका विभिन्न संघ संस्थाको प्रतिनिधिको उपस्थिति थियो । जनसम्पर्क समितिको कार्यकाल सकेर लामो समय वितिसक्दा पनि अधिवेशन गर्न नसकेको यो अवस्थामा न्युयोर्क च्याप्टर विभाजन हुनु दुर्भाग्य भएको भन्दै समितिका पदाधिकारीले दुखेसो पोखेका थिए ।
समितिभित्रको आपसी विवाद एकतिर अर्कोतिर केन्द्रले अधिवेशन गर्न नदिएकोले समितिभित्र दिनदिनै अन्यौल बढ्न थालेको छ । समितिभित्र यस्तो विभाजन भएर विवाद हुँदा पनि केन्द्र र जन सम्पर्क समितिको नेतृत्वले खासै मिलाउने पहल गरेका छैनन् ।