३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

प्रवासमा राजनीतिक स‌ंगठन नखोल्न उपप्रधानमन्त्री पोखरेलको सुझाव, ‘एनआरएनले नागरिकता पाउँछ’


१९ चैत्र २०७५, मंगलबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गैरआवासीय नेपाली(एनआरएन)ले नागरिकता पाउने सुनिश्चित भएको बताएका छन् ।
मार्च ३१ मा न्युयोर्कमा प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको कार्यक्रम उपप्रधान तथा मन्त्री पोखरेलले उक्त भनाई राखेका हुन् ।
कार्यक्रममा उनले भने, ‘संविधानले गैरआवासीय नेपालीले नागरिकता निश्चित गरेको छ । यसमा अब कानुन बन्नुपर्‍यो । कानुनले व्याख्या गर्छ । आउने अधिवेशनमा यो कानुन पारित हुन्छ । गैर आवासीय नेपाली नागरिकताको सम्बोधन हुन्छ । गैरआवासीय नेपालीले नागरिकता पाउँछन् । अब कानुनले मात्र बोल्न बाँकी छ ।’

एनआरएनले नागरिकता पाउने भए पनि राजनीतिक अधिकार भने प्राप्त नहुने स्पष्ट पार्दै मन्त्री पोखरेलले थपे, ‘राजनीतिक अधिकार हुँदैन । यसका लागि त नेपालमै बस्नुप¥यो नि । यसमा क्लियर छ ।’

एनआरएनको नागरिकताको सम्बन्धमा यो भन्दा बढी कुरा मुछ्न नहुने उनको भनाई थियो । मन्त्री पोखरेलले एनआरएन नागरिकतामा आफ्नो भावनात्मक सम्बन्धसमेत रहेको दाबी गरे । भने, ‘२०६१÷६२ सालमा उद्योमन्त्री हुँदा एनआरएन डे मनाउने प्रस्ताव मैले गरेको हो । त्यो भयो पनि । पछि नागरिकताको अध्यादेश ड्राफ्ट गराउँदा पनि थिए । म इमोसनली एट्याच छु ।’

नागरिकताको बारेमा बोल्दा ग्लोबल सिनमा बुझ्नुपर्ने आवश्यकता मन्त्री पोखरेलले औंल्याए । दुई ठुला देशको बीचमा रहेको र लगभख खुल्ला सीमा रहेकोले यसमा ध्यान दिनुपर्ने पोखरलेको भनाई थियो ।

सीप र धन नेपालमा लगानी गर्न आह्वान

मन्त्री पोखरेलले आफूले सिकेको सीप र आर्जन गरेको धन मातृभूमिमा लगानी गर्न आह्वानसमेत गरे ।
‘यहाँ धन कमाउनुभयो । सीप कमाउनु भयो । यो नेपालको विकासका लागि कसरी प्रयोग गर्न सकिन्छ । मेरो अनुरोध छ,’ मन्त्री पोखरेलले भने ।

प्रवासी नेपालीको सम्पत्ति कब्जा गर्ने कुरा सही नभएको उल्लेख गर्दै उनले भने, ‘गैरआवासीय नेपालीको सम्पत्ति कुनै पनि हालतमा कब्जा हुँदैन । हामी विदेशीलाई त लगानी गर्न आह्वान गरिरहेको अवस्थामा यस्तो हुनै सक्दैन । ’

विभिन्न देश पुग्दा नेपालीहरुको इमान्दारिताबाट आफू प्रभावित भएको भन्दै मन्त्री पोखरेले प्रशंसासमेत गरे । ‘प्रवासमा पुग्या छन् नेपालीहरु । अध्ययन, रोजगार, व्यापारका लागि विभिन्न देशमा पुगेका छन् । जुनसुकै देशमा जुनसुकै हैसियतमा पुगे पनि नेपालीहरुले इमन्दारितापूर्वक पुरा गर्छन् भन्ने कुरा म नेपाली पुगेको ठाउँमा पाएको छु । यो मुलुकका लागि गर्वको कुरा हो,’ उनले भने ।

त्यसैगरी नेपालप्रतिको चिन्ता पन िसम्माननीय भएको पोखरेलको प्रतिक्रिया थियो । भने, ‘सबैको नेपालप्रतिको चिन्ता पाइयो । यही आर्थिक कारोबार गर्ने यही बस्ने भए पनि यस्तो चिन्ता गर्नुहुन्छ । यो सम्माननीय कुरा हो ।’

पार्टीको इकाइ वा संगठन खोल्नु गलत कदम

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिवालय सदस्यसमेत रहेको मन्त्री पोखरेलले अमेरिका आएर पनि पार्टीको संगठन खोल्नु भनेको गलत कदम भएको बताए । जबकि उक्त कार्यक्रम नेकपाकै भातृ संगठन प्रवासी नेपाली मञ्चले आयोजना गरेको थियो ।

कार्यक्रममा मन्त्री पोखरेलले भने, ‘हामीले देशको नीति नियम पालना गर्नुपर्छ । नेपालमा पार्टी छेलोखेलो छ । एउटा न एउटा पार्टीसँग मिसाएको विचार बन्छ । यहाँ कुनै पार्टी विशेषको संगठन, कमिटी इकाइ बनाउनु काम छैन । त्यो गलत हुन्छ । म स्ट्रिक्ट्ली भन्छु । हाम्रो देशमा कुनै पनि छिमेकीले शाखा खोल्न थाले के हुन्छ ? च्याप्टर खोलेमा के हुन्छ ?’

विदेशमा संघसंगठन खोल्दा सबैको हित गर्ने हिसाबले साझा संगठन खोल्नुपर्ने उनको सुझाव थियो । भने, ‘विभिन्न मुलुकमा विभिन्न मुलुकका मान्छे पुगेका हुन्छन् । त्यो कम्युनिटीको हिसाबले खुल्नुपर्छ । पोलिटिकल पार्टीको हिसाबले संगठित हुनु ठीक हुदैन । गलत हुन्छ । हामीले तालतालको अभ्यास गर्दै आएको छौ । प्रवासी नेपाली मञ्च पार्टीको होइन । पार्टीको बनायो भने यसले संकट निम्त्याउँछ । यो पार्टीको संगठन होइन ।’

नेपालीको अधिकारका लागि लड्न साझा संगठन खोल्न आग्रह गर्दै मन्त्री पोखरेलले यसमा एनआएन भने छुट्न नहुने धारणा राखे ।

 

संविधान ढुंगामा लेखिएको दस्तावेज होइन, संशोधन हुन्छ

पछिल्लो समय संविधान संशोधनका विषयमा विभिन्न चर्चा चलेको उल्लेख गर्दै मन्त्री पोखरेलले संविधान संशोधन हुनै नसक्ने विषय नभएको स्पष्ट पारे ।


भने, ‘कुनै चीज पूर्ण त हुँदैन । संविधानमा भएका कमीकमजोरी सच्याउन त्यहाँ संविधानमै व्यवस्था गरेको छ नि । बाहिरी शक्ति, यो जात त्यो जातले बनाएको हैन नि । यो त समानुपातिक प्रतिनिधिले बनाएको हो । हो ढुंगामा लेखिएको दस्तावेज होइन । गतिशिल दस्तावेज हो । यसको औचित्य पुष्टि भएमा संशोधन हुन्छ ।’

नेपाल अल्पसंख्यकहरुको देश भएकोले सबै मिलेर बस्न सक्नुपर्ने मन्त्रीको भनाई थियो । पोखरेलले भने, ‘नेपाल अल्पसंख्यकहरुको देश हो । हामी सबै मिलेर बस्नुपर्छ । सबैको पहिचानलाई स्विकार गर्नुपर्छ ।’

यसमा ‘सबैको पहिचानलाई सम्मान गर, सबैको प्रतिनिधित्वलाई स्थान देउ, सबैको स्रोतहरुमा पहुँचलाई सुनिश्चित गर’ नारालाई भुल्न नहुने उनको भनाई थियो ।

जातीय विषयमा विभिन्न कुरा आएको उल्लेख गर्दै मन्त्री पोखरेलले ठूलो जातिको अहंकार, सानो जातिको संकीर्णता दुबै मुर्खता भएको बताए । पहिचानमा भाषा र भेषभुषाको कुरा आउने र यसमा एकले अर्कालाई सम्मान गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा, महासचिव राधाकृष्ण देउजा, एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर सञ्जय थापा, डिआरसी नवीन शेरचन, आदिवासी जनजाति महासंघ, अमेरिकका अध्यक्ष मान रानामगरलगायतले प्रवासीलाई आफ्नै मातृभूमि नेपाल फर्कने वातावरण बनाउन उपप्रम पोखरेललाई सुझाव दिएका थिए ।

पोखरेल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग न्युयोर्क आइपुगेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले यही मार्च २९ मा राष्ट्रसंघको मुख्यालय सम्बोधन गरेका थिए भनेसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भेटसमेत गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ६ : २० बजे