एभरेस्ट टाइम्स/काठमाडौं
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समिति(एनआरएन आइसिसी)को नवौं सम्मेलन काठमाडौंस्थित होटल हायातमा शुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरेकी हुन् । उद्घाटन सत्रमा एनआरएन एनसिसी भएका मुलुकका झन्डोत्तलनसमेत गरिएको थियो । कार्यक्रम उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वदेशमा लगानी बढाउन आग्रहसँगै सम्मेलन पूर्ण सफलताको शुभकामना व्यक्त गरिन् । भण्डारीले नेपालको विकास र समृद्धिमा योगदान गर्ने उद्देश्यले स्थापित एनआरएनले विगत डेढ दशकभित्र महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नु खुसीको कुरा भएको बताइन् ।
विश्वभर छरिएर रहेका नेपालीको साझा संस्था एनआरएनले नेपाल र नेपालीप्रति स्वतस्फूर्त रुपमा प्रस्तुत गर्दै आएको लगाव र योगदानलाई संस्थागत गर्नमा एनआरएनले खेलेको भूमिका महत्वपूर्ण भएको उनको भनाई थियो ।
राष्ट्रपति भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आह्वान गरिन् ।
राष्ट्रपति भण्डारीले नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल वातावरणमा संसारभरि आर्जेका ज्ञान, सीप अनुभव र उद्यमशीलतालाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । उनले व्यक्तिगत तथा सामूहिक लगानीमार्फत समुन्नत नेपाल निर्माणको महाअभियानमा सहभागी हुन गैरआवासीय नैपालीलाई आग्रहसमेत गरिन् । ‘पूर्वाधार विकास, कृषिको आधुनिकीकरण एवं व्यवसायीकरण, औद्योगिकीकरण र आर्थिक समृद्धि अहिलेको हाम्रो साझा प्राथमिकता हो । सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय साझा आकाङ्क्षा पूरा गर्ने दिशातर्फ केन्द्रित छन्, विकास र समृद्धिको यो यात्रा एउटा अभियानका रुपमा अघि बढिरहेको छ’, उनले भनिन्, ‘गैरआवासीय नेपालीले नेपालमा गर्ने लगानीलाई थप प्रोत्साहन र सहजीकरण गर्न सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको छ ।’ संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित नेपाल अहिले आर्थिक सामाजिक विकासको युगान्तकारी चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्व, दिगो शान्ति र स्थिरता कायम भएको बताइन् ।
राष्ट्रपति भण्डारीले आआफ्नो जीवनयात्रा, बाध्यता र परिस्थितिले संसारको जोसुकै कुनामा छरिएर रहेका भए पनि सबै नेपाली एकै परिवार भएको उल्लेख गरिन् । भण्डारीले देश बाहिर बसेका र देशभित्र रहेका निरन्तर सम्पर्क, आवतजावत, सहयोग, सहकार्य हुनुपर्नेमा जोड दिइन् । उनले एनआरएनको भूमिका नेपाल र नेपालीको परिचय, पहिचान र उन्नतिमा मात्र सीमित नभई नेपाल र विश्वलाई भाइचारा र सद्भावनामा जोड्ने पनि भएको बताइन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका निम्ति सरकारले आयोजना गरेको लगानी सम्मेलन, नेपाल भ्रमण वर्ष अभियानलगायतलाई सफल बनाउन गैरआवासीय नैपालीमो भूमिका महत्वपूर्ण हुने भन्दै यसलाई अगामी दिन थप प्रभावकारी बनाउन आग्रह गरे ।
संघका पूर्वअध्यक्ष संघले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई सार्थक बनाउन संघले सक्रिय भूमिका निभाउने बताए । घलेले भने, ‘सम्भव भएसम्म आफ्नै मातृभूमिमा समृद्धिका लागि खर्च गर्न हामी दत्तचित्त छौ । लगानीका सम्बन्धमा अनेक उल्झन हुँदाहुँदै पनि मातृभूमिप्रतिको दायित्व ठानेर हामीले यहाँ लगानी गरिरहेका छौ । मलाई लाग्छ हालसम्मको हाम्रो लगानी नाफामुलक भन्दा भावनात्मक भएको महसुस भएको छ ।’
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आफू एनआरएनसँग सहकार्य गरेर मुलुकको आर्थिक विकासमा सरकारलाई सहयोग गर्ने बताइन् ।
कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आफूले लाग्ने बताए । उनले पूर्वाधार, ऊर्जा, पर्यटनमा लगानी गर्ने वचन दिए । उनले आफ्नो कार्यकालमा भएको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सम्मेलनमा ८१ मुलुकका दुई हजार ५ सय प्रतिनिधि सहभागी छन् । ‘म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ शुरु भएको सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्यले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । नयाँ नेतृत्वका लागि बुधबार मतदान हुनेछ ।
उद्घाटन कार्यक्रममा संस्थापक अध्यक्ष उपेन्द्र महतोको उपस्थिति थिएन । संस्थामा राजनीतिक हस्तक्षेप शुरु भएको गुनासो गर्दै महतोले कार्यक्रम बहिस्कार गरेका थिए ।