४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

दिल्लीमा अहिलेसम्मकै बढी वायु प्रदूषण



काठमाडौं– भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषण अहिलेसम्मकै बढी देखिएको छ । बुधबार बिहान यहाँको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अघिल्ला दिनहरुका तुलनामा बुधबार वायु प्रदुषण बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषण हो । एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदुषित वस्तुको मात्रा अति खराब हो । हरियाणा राज्यको नजिक रहेको गुरुग्राम नगर र नोइडाको वायुमा रहेको प्रदुषणको मात्रा यति धेरै पुगेको समाचारहरुमा जनाइएको छ ।

उक्त मापनअनुसार ० देखि ५० सम्म एक्युआईलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक र ४०० देखि ५०० एक्युआईलाई एकदमै खराब मानिन्छ । ५०० भन्दा बढी एक्युआई पुगे संकटकालीन अवस्थाका रुपमा लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा सरकारले ती क्षेत्रमा संकटकालीन अवस्थाको घोषणा गर्नुपर्ने हुन्छ ।

वायु प्रदुषण कारण त्यस क्षेत्रको जनजीवन कष्टकर बन्न थालेको समाचार आइरहेका छन् । केही सातादेखि नै नयाँदिल्लीमा सडक र वरपरको क्षेत्रका निर्माण कार्यहरू ठप्प छन् । वायु प्रदूषित भएकोले केही दिनका लागि विद्यालयहरू पनि बन्द गरिएका थिए ।

अघिल्ला वर्षमा पनि चिसो सिजनको सुरुवातमा दिल्लीमा वायु प्रदुषणको समस्या देखिँदै आएको थियो । साढे ४ करोड जनसंख्या रहेको नयाँ दिल्लीको प्रदूषण नियन्त्रण गर्न सरकारलाई निकै सकस परेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १ : १४ बजे