काठमाडौं– भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा भएको आगलागीमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । घटनास्थलमा उद्धार जारी छ ।
एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
सहरका साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो नियन्त्रण गर्न कठिन भएर धेरैतिर फैलिएको बताइएको छ ।
घटनास्थलबाट कम्तीमा ५० जनालाई उद्धार गरिएको दिल्ली प्रहरीले जनाएको छ । उद्योगमा काम गर्ने मजदुरहरु सुतिरहेका बेला चार पाँच तले भवनमा आगलागी भएको थियो ।
नयाँ दिल्लीका एक बरिष्ठ प्रहरी अधिकारीले आगलागी भएको भवनमा कम्तीमा ५८ जना रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन् ।
अग्नि नियन्त्रकहरुले आगलागी नियन्त्रण गर्न निकै कठिनाई भएको बताएका छन् । आगलागी भएको भवनमा स्कुले विद्यार्थीका झोला र प्याकेजिङ गर्ने सामग्री राखिएका थिए ।
उद्धारकर्ताहरुले आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको जनाएका छन् ।
उद्धार गरिएका सबैलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
भारतका धेरै सहरमा रहेका कारखाना तथा साना उत्पादन केन्द्रहरु पुराना तथा साँघुरा गल्लीहरुमा सञ्चालन गर्ने गरिएका छन् ।