१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अमेरिकी विशेषदूतद्वारा उत्तर कोरियासँग वार्ता प्रस्ताव



सोल– उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका छन् ।

उनले सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा सो जानकारी दिएको समाचारहरुमा जनाइएको छ ।

अमेरिकाको तर्फबाट आएको यो धेरै पछिको वार्ता प्रस्तावलाई विश्व समुदायले भने सकारात्मक रुपमा लिएको समाचारमा जनाइएको छ ।

सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

सोमबार बिहान सोलमा उत्तर कोरिया र दक्षिण कोरियाका आणविक दूतहरुको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

उक्त क्रममा उत्तर कोरियाली आणविक दूत लि डु हुन पनि थिए । उनी दक्षिण कोरियाको तीन दिने औपचारिक भ्रमणका लागि आइतबार मात्र सोल आइपुगेका हुन् ।

उत्तर कोरियाले ‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको समाचार दुई दिनमात्र अघि सरकारी समाचार संस्था (केसीएनए)मार्फत शनिबार सार्वजनिक गरेको जनाएको थियो ।

उत्तर कोरियाको यो जानकारी पछि लगत्तै अमेरिकी दूतकातर्फबाट वार्ताको प्रस्ताव आएको छ । यस समय अमेरिकाको औपचारिक वार्ता प्रस्ताव आउनुलाई अर्थपूर्ण रुपमा लिइएको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाले एक हप्ताभन्दा कम समयमा दुई ओटा नै यस्ता आणविक परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाको सोहाएबाट नै यी परीक्षणहरु गरेको समाचारमा जनाइएको छ ।

अमेरिका र उत्तर कोरियाबीचको परमाणु वार्ता अहिले रोकिएको छ र परीक्षण उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत तीन दिन लामो भ्रमणमा सोल आउनुभन्दा ठीक दुई दिन पहिले भएको हो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच गत अक्टोबर महिनामा स्टकहोममा पनि उच्चस्तरीय वार्ता भएको थियो । उक्त वार्तामा खासै कुनै नयाँ एजेण्डामा सहमति नभएको भए पनि वार्ता भने सकारात्मक भएको बताइएको थियो ।

उत्तर कोरिया सरकारका प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था केसिएनएले उत्तर कोरियाले उसको यसअघि पनि आणविक परीक्षणहरु गर्ने गरेको स्थलबाट देशको परमाणु क्षमता विस्तार गर्ने खालको महत्वपूर्ण परीक्षण गरेको जनाएको थियो ।

यस वार्ताको प्रस्तावको विषयमा उत्तर कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकाले उत्तर कोरियाले सिंगापुरमा व्यक्त गरेको निशस्त्रीकरणको प्रतिबद्धता नै पूरा गर्न नसकेको जनाएको छ ।

तर पनि अमेरिकी यस भनाई सत्य नरहेको उत्तर कोरियाले बताउँदै आएको थियो । उसले भने सिंगापुरमा भएको प्रतिबद्धता बमोजिम आफूले काम गरेको बरु अमेरिकाले भने त्यस बमोजिम काम नगरेको बताउने गरेको छ ।

तर शनिबार भएको यस पछिल्लो आणविक परीक्षणपछि भने अब उत्तर कोरिया निशस्त्रीकरणको पक्षमा नै नरहेको कुरा प्रष्ट भएको अमेरिकी भनाई रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एजेन्सी

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १ : २४ बजे