२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

पूर्व राष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड दिने निर्णयमा पाकिस्तानी सेनाको विरोध



एजेन्सी– पाकिस्तानी सेनाले आफ्ना पूर्वप्रमुख परवेज मुसर्रफलाई मृत्युदण्ड दिने अदालतको निर्णयप्रति आपत्ति जनाएको छ ।

इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७ मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको थियो। तीन जना न्यायाधीशहरूको इजलासले पूर्वसैनिक शासक मुसर्रफलाई उक्त सजाय सुनाएको हो। जेल परेका मुसर्रफ पछिल्लो समय उपचारका लागि संयुक्त अरब इमिरेट्समा छन्।

‘जनरल परवेज मुसर्रफविरूद्ध अदालतको फैसलाले सेनालाई धक्का लागेको छ । पूर्वराष्ट्रपति समेत रहेका जनरल मुसर्रफले ४० वर्ष देशको सेवा गरे र उनीविरूद्धको फैसलाले संविधानको उपेक्षा गरेको छ,’ सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।

देशको रक्षाको लागि लडाइँ लड्ने देशद्रोही हुनै नसक्ने भन्दै प्रवक्ता गफूरले भनेका छन्, ‘जुन व्यक्तिले देशको रक्षाको लडाइँ लड्यो त्यो कहिल्यै देशद्रोही हुन सक्दैन। अदालतले आफ्नो बचाऊ गर्ने मौका पनि दिएन जुन आधारभूत अधिकार हो। बिनाठोस सुनुवाइ हतारमा फैसला सुनाइयो।’

मुसर्फरका पक्ष फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छ । सर्वोच्चले फैसला सदर गरेमा राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै मृत्युदण्डको सजाय माफ गर्न सक्छन्।

पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला सुनाएको यो पाकिस्तानको पहिलो घटना हो।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : ४८ बजे