काठमाडौं– पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको मृत्युदण्डअघि नै मृत्यु भए शवलाई झुण्ड्याउन आदेश दिएको छ ।
लाहोर उच्च अदालतले गत हप्ता गरेको मृत्युदण्ड दिने फैसलाको पूर्ण पाठमा उनको शवलाई तीन दिन इस्लामावादको डेमोक्र्यासी चौकमा झुण्ड्याउनुपर्ने उल्लेख गरेको छ ।
पूर्वसैनिक मुसर्रफले १९९९ अक्टोबरमा विद्रोह गरेर सत्ता हातमा लिएका थिए । २००१ जुनमा उनले आफैलाई राष्ट्रपति घोषित गरे ।
मुशर्रफ २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति थिए । उनले २००७ मा संकटकाल लगाएर देशद्रोह गरेको अदालतको भनाई छ ।
७६ वर्षीय मुसर्रफ उपचारका लागि युएईमा छन् । उनले अस्पतालबाटै भिडियो सन्देश जारी गरेर अदालतले प्रतिशोधपूर्ण फैसला गरेको प्रतिक्रिया दिएका छन् ।
पाकिस्तानी सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले मृत्युदण्ड दिने फैसलाको विरोध गरिरहेका बेला अदालतको यो आदेशले स्थितिलाई थप जटिल बनाउन सक्ने बताइएको छ । मुसरर्फका वकिलले भने पुनरावेदन गर्ने बताएका छन् ।