५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

इरानले हमला गरे ५२ स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी



एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना नागरिक वा सम्पत्तिमाथि हमला गरे इरानका ५२ स्थानमा हमला गरी ध्वस्त बनाइदिने चेतावनी दिएका छन् ।

इरानको इस्लामिक रेभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) अन्तर्गतको कुद्स फौजका जर्नेल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भएसँगै अमेरिका र इरानबीच द्वन्द्व बढेको छ ।

इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिएको छ । अमेरिकाले आफूविरुद्ध आक्रमणको योजना बनाएको भन्दै सुलेमानीमाथि कारबाही गरेको बताएको छ ।

ट्रम्पले ट्वीटरमा लेख्दै इरानले बिना कुनै संकोच अमेरिकी हमलाको तयारी गरिरहेको बताएकोले आफूहरुले पनि इरानको ५२ वटा स्थानलाई लक्ष्य बनाइसकेको बताएका छन् । उनले ५२ स्थानमा इरानका निकै महत्वपूर्ण र एतिहासिक स्थानहरु पर्ने पनि उल्लेख गरेका छन् । ‘यदि इरानले हमला गरे हामी पनि निकै छिटो र घातक रुपमा आक्रमण गर्नेछौं,’ उनले लेखेका छन्, ‘अमेरिका धम्की सुन्न चाहँदैन ।’

इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले अमेरिकासँग इरानी सेनाका कमाण्डर जर्नेल कासिम सुलेमानीको हत्याको बदला लिने बताएका छन् । नेता खामेनीले अमेरिकाविरुद्धको लडाइँ जारी रहने पनि बताएका छन् ।

 

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १ : ०७ बजे