११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

अमेरिकामा ‘भिजिट नेपाल २०२०’ को औपचारिक शुभारम्भ


Ang

१६ माघ २०७६, बिहिबार  

0
Shares

संयुक्त राज्य अमेरिकामा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरिएको छ । न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतावासले आयोजना गरेको विशेष समारोहमा अमेरिका लागी नेपालका राजदुत डा अर्जुन काकीै, संयुक्त राष्ट्रका लागी नेपालका स्थायी प्रतिनिधि अमृत कुमार राई र नेपालका लागी अमेरिकाका पुर्व राजदुत स्कट एच डेलिसिले संयुक्त रुपमा दिप प्रज्वलन गरि ‘भिजिट नेपाल-२०२०’ को शुभारम्भ गरिएको थियो ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे अनुरुप विभिन्न देशमा भ्रमण वर्षको उद्घाटन गरिएसंगै न्यूयोर्कमा मंगलबार शुभारम्भ गरिएको हो । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै यो भ्रमण वर्षको अवसरमा नेपाल घुम्नका लागी नेपाल सरकारको तर्फबाट औपचारिक निम्तो दिएका थिए । नेपालमा लोकतान्त्रिक प्रक्रियाबाट संविधान निर्माण, संघीयता कार्यान्वयनमा आएको र स्थायी सरकार बनेको भन्दै अब नेपाल र नेपाली समृद्धिको बाटोमा अग्रसर राजदुत कार्कीले बताए । उनले नेपालको आर्थिक विकासका लागि सरकारले पर्यटन क्षेत्रलाई महत्वपूर्ण पाटोको रुपमा लिएको भन्दै भिजिट नेपाल अभियानलाई सफल पार्न सबै नेपाली र कूटनीतिज्ञहरुको पनि दायित्व भएको उल्लेख गरे ।

नेपाल पर्यटकीय दृष्टिकोणले पहिलो गन्तव्य रहेको भन्दै ८ हजार मिटर माथिको उच्च हिमालहरुसंगै विश्वकै सर्वोच्च शिखर सगरमाथा, ट्रेकिङ, राफटिङ , प्याराग्लाइडिङ, विभिन्न चराचुरुङी र वन्यजन्तु हेर्न पाइने राजदूत कार्कीले बताए । नेपाली ऐतिहासिक, पुरातात्विक सम्पदा, परम्परा, संस्कार संस्कृतिसंग परिचित हुन पनि नेपाल घुम्नु पर्ने आग्रहसंगै राजदूत कार्कीले पर्यटकहरुलाई बस्ने, खाने, पर्यटकीय क्षेत्रमा जाने यातायातको सुविधा लगायतमा पनि कमी हुन नदिन नेपाल सरकार सचेत रहेको बताए । त्यस्तै संयुक्त राष्ट्रसंघका लागी नेपालका स्थायी प्रतिनिधि अमृत कुमार राईले प्राकृतिक र भौगोलिक रुपमा अत्यन्तै सुन्दर मुलुक नेपालमा एक पटक भ्रमण गरेमा धेरै अविष्मरणीय अनुभव पाइने बताउदै सवैलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए । नेपाल सरकारले यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताउदै अमेरिकाबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्रिने अपेक्षा रहेको राष्ट्रसंघका स्थायी प्रतिनिधि राईले बताए ।

कार्यक्रममा नेपालका लागि अमेरिकी पूर्वराजदूत स्कट एच डेलिसीले आफु राजदूत भएका बेला नेपालबाट धेरै कुराहरु सिक्न पाएको र धेरै कुराहरुले आर्कषित गरेको प्रसंग उल्लेख गर्दै नेपाल एउटा उत्कृष्ट गन्तव्यका भएको बताए । उक्त अवसरमा पुर्व राजदुत डेलिसिको संयोजकत्वमा नेपाल पुगेर फर्केका अमेरिकाका ट्राभल एजेन्ट, फोटोग्राफर, शाहसीक खेलाडी लगायत लेखकहरुलाई बोलाएर प्यानल डिस्कासन मार्फत उनीहरुको अनुभव सुनाएका थिए । अमेरिकाबाट नेपालमा राजदुत भएर नेपालको जानकार पुर्व राजदुत स्कट एच डेलिसिलाई नेपालको सदभावना दुतको रुपमा सम्मान गरिएको थियो । उनीसंगै नेपाल घुमेर नेपालको बारेमा प्रचारप्रसारमा सहयोग पुर्‍याउने अमेरिकी नागरिकहरुलाई पनि नेपाल सरकारको तर्फबाट सम्मान गरिएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० सचिवलयका सदस्य सचिव एवं पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठले नेपाल किन घुम्नु पर्ने, घुम्नुपर्ने ठाउहरुका बारेमा स्लाइड शो मार्फत जानकारी दिएका थिए ।  स्लाइड शोका क्रममा उनले नेपाल सगरमाथा सहित मकालु, कञ्चनजंग हिमाल लगायतका दृश्यावलोकन, पोखरा, बुद्धको जन्मस्थल लुम्बिनी, मुगुको रारा ताल, चितवनको सौराहजस्ता पर्यटकीय गन्तव्य रहेको जानकारी गराए । त्यस्तै कर्णालीमा राफटिङ, उत्कृष्ट पर्यटकीय गन्तव्य पोखराको सराङकोट लगायत क्षेत्रमा गराइने प्याराग्लाइडिङ जस्ता थुप्रै पर्यटकीय गतिविधि हुने गरेको बताए । त्यस्तै, नेपाली परम्परागत संस्कृति, वन्यजन्तुको अवलोकन, पशुपतिनाथ, जनकपुरको जानकी मन्दिर र काठमाडौं उपत्यकामा समेत घुम्नलाई विभिन्न सांस्कृति सम्पदाहरु रहेको उल्लेख गरे । नेपालको घुम्न लायक विभिन्न पर्यटकीय ठाउबारे निर्माण गरिएको वृत्तचित्र समेत देखाइएको श्रेष्ठले देखाएको थियो । जसमा पशुपतिनाथ मन्दिर, विभिन्न ताल, हिमालहरु, नेपाली मौलिक संस्कार, नेपालीको रहनसहन, संस्कृति, राफटिङ , प्याराग्लाइडिङ, बन्जीजम्प लगायत दृश्य समेटिएको थियो । कार्यक्रममा नेपाल भ्रमण गरेका अमेरिकनहरु, कूटनीतिक नियोगका प्रतिनिधि, ट्राभल एजेन्टहरु, ट्राभल राइटरहरु, पर्यटन व्यवसायी र अमेरिकन मिडियाका पत्रकारहरु सहभागी थिए । कार्यक्रममा नेपाली मौलिक सस्कृति झल्कने गीत तथा नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  २ : ०३ बजे