११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

मुगुम(मुगाल) समुदायको न्युयोर्कमा पहिलो औपचारिक सोनाम लोसार सम्पन्‍न



न्युयोर्क । युनाइटेड मुगुम अर्गनाइजेसनले न्युयोर्कको क्विन्समा भव्यरुपमा सोनाम लोसार २१४७ जीवा लो (मुसा वर्ग) मनायो । नेपालको मुगु जिल्लाबाट आएका हाल अमेरिकामा बसोबास गर्ने मुगुम(मुगाल) जातिको अमेरिकास्थित सामुदायिक संस्था युनाईटेड मुगुम अर्गनाइजेसनको आयोजनामा औपचारिक कार्यक्रमसहित पहिलो पटक महान् पर्व लोसार पर्व मनाइएको हो । अघिल्ला वर्षहरुमा उनीहरुले आफ्ना समुदाय बीचमा मात्र अनौपचारिक रुपमा मनाउँदै आएका थिए ।

आयोजक संस्थाका अध्यक्ष पेमा नामग्यालको अध्यक्षतामा र नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)का अध्यक्ष लोक चेम्जोङको प्रमुख आतिथ्यमा साथै अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

मुगाली लामा गुरु र प्रमुख अतिथिबाट गौतम बुद्धको मूर्तिमा खादा चढाएर नौलो तरिकाले कार्यक्रमको सुरुवात गरिएको थियो । मातृभूमि नेपालको सम्झना र सम्मानमा नेपाली राष्ट्रिय गान र कर्मभूमि अमेरिकाको सम्मानमा अमेरिकी राष्ट्रिय गान प्रस्तुत हुँदा सबैले उठेर सम्मान गरेका थिए ।

आयोजक संस्थाका सचिव गेलेक नामग्यालले अतिथिहरुलाई स्वागत गर्दै आफ्ना भनाइ राखेका थिए । उनले मुगालीहरुको भेषभुषा विशेष महत्वको भएको बताउँदै अचेल सहज रुपमा बजारमा नपाइने जानकारी दिए । मुगालीहरुले आफ्नो भेषभुषाका बारेमा बेलैमा सोच्नुपर्ने समय आएको र आफ्नो परम्परालाई बचाइ राख्नका लागि सबै एकजुट हुनुपर्ने विचार उनले राखेका थिए ।

दुई चरणमा भएको उक्त कार्यक्रममा पहिलो चरणमा शुभकामना आदान–प्रदान रहेको थियो भने दोस्रो चरणमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

लोसार कार्यक्रमकी संयोजक टोमा लामाले कार्यक्रमलाई निकै सरल ढंगले प्रस्तुत गरेकी थिइन् । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाकी (फिप्ना)मा सचिवको जिम्मेवारीमा समेत रहेकी कार्यक्रम सञ्चालिका लामाले बीचबीचमा अत्यन्तै सारगर्भित भनाइहरु पनि राखेकी थिइन् । उनले मुगुम(मुगाल)हरुको पनि आफ्नै मौलिक संस्कार र संस्कृति भएको र अन्य समुदायभन्दा केही पृथक् भएकोले राज्यले यस विषयमा विशेष ध्यान दिनुपर्ने तर्क राखिन् । यो समुदाय आर्थिक रुपले केही मात्रामा सबल भए पनि राज्यको हरेक संयन्त्र तथा अन्य विभिन्न क्षेत्रमा पहुँच तथा सहभागिता हुन नसकेकोले सम्बन्धित निकायले यसमा विशेष ध्यान दिन जरुरी छ भन्दै नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले मुगाल(मुगुम) जस्ता पछाडि पारिएका आदिवासीहरुको लागि विशेष कार्यक्रमहरु तय गरी लागू गर्न पनि उनले कार्यक्रमका प्रमुख अतिथि फिप्नाका अध्यक्ष लोक चेम्जाङको ध्यानाकर्षण समेत गराइन् ।

शुभकामना मन्तव्य दिँदै आयोजक संस्थाका अध्यक्ष पेमा नामग्यालले न्युयोर्कमा धेरै पहिलेदेखि मुगाल समुदायले लोसार मनाउँदै आएको भए पनि न्युयोर्कमा अन्य नेपाली संघ संस्थासँग यसरी पहिलोपटक लोसार मनाउन पाएकोमा खुसी व्यक्त गरेका थिए ।

अध्यक्ष नामग्यालले उपस्थित सबैलाई धन्यवाद दिँदै आउने वर्षहरुमा पनि सबै मिलेर यसरी नै लोसार मनाउने प्रतिबद्धता जनाए । उनले संसारको जुनसुकै ठाउँमा पुगे पनि आफ्नो धर्म, संस्कार र संस्कृति भुल्न नहुने तथा भावीपुस्ताका लागि त्यसको संरक्षण र संवद्र्धनमा लाग्नु सबैको दायित्व रहेको बताएका थिए ।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ (फिप्ना) का अध्यक्ष लोक चेम्जोङले मुगुम अर्गनाइजेसनले पहिलोपटक सबै समुदायलाई समेटेर लोसार मनाएकोमा संस्थाको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।


अध्यक्ष चेम्जोङले नेपालीको पहिचान दौरा सुरुवाल मात्र नभएर विभिन्न जातजातिको संस्कार र संस्कृति पनि नेपालीको पहिचान रहेको बताउँदै नेपालमा पहिचानसहितको संघीयता स्थापित हुनुपर्ने तर्क राखे । उनले यस विषयमा समग्र आदिवासी जनजातिहरु एक भएर आवाज उठाउनुपर्ने समेत बताए ।

सोही अवसरमा नेपाली कलाकार संघ अमेरिकाका अध्यक्ष सुमन बुढामगरले मुगाली समाज आफ्नो पारिवारिक समाज रहेको बताउँदै मुगाली समाजको संस्कृति र भेषभुषाका बारेमा प्रशंसा गरे । उनले यो संसारमा खोजेर नपाइने भेषभुषा र आतिथ्य भन्दै आफ्नो मौलिक भेषभुषामा सजिएर आएकोमा खुसी व्यक्त गरेका थिए ।

त्यस्तै ढोक्पे किदुंगका अध्यक्ष गोवा जीवन लामाले मुगाली समाज र आफ्नो समाजको संस्कार धेरै कुरामा मिल्दोजुल्दो रहेको बताउँदै सुरुका दिनमा आफ्नो समाजले पनि यसरी नै सुरुवात गरेको बताए । उनले भविष्यमा सबै संघसंस्थासँग भाइचाराको सम्बन्ध कायम गर्दै आफ्नो चाडपर्वलाई यसरी नै मिलेर मनाउने प्रतिबद्धता जनाए ।

एभरेस्ट टाइम्सका सम्पादक ङिमा पाख्रिनले नेपालमा मुगाली समाजको चर्चा धेरै सुनेको तर आफूले नेपालको धेरै जिल्लाहरुमा भ्रमण गरे तापनि मुगुमा भने पुग्न नसकेको भए पनि न्युयोर्कमा यसरी मुगालहरुसँगै लोसार मनाउने अवसर जुरेकोमा खुसी व्यक्त गरे । मौलिक परम्परालाई जोगाउँदै आफ्नो हकअधिकार र पहिचानको लागि जहाँ बसे पनि सधैं एक भएर अघि बढ्नुपर्ने उनले सुझाएका थिए ।

कार्यक्रममा नेपालका चर्चित डान्सर गीता राईले आकर्षक नृत्य प्रस्तुत गरिन् भने मुगाल कलाकारहरु छिरिङ तेन्पा, ज्याम्पा तेन्जिन, गेलेक नामग्याल, भिटिक, छिरिङ भिटिक, गालदेन, कुञ्जोम र तेन्जिन साङमोले मुगुम(मुगाल) परम्परागत लोक नृत्य देखाए ।

मुगुम(मुगाल) युवा गायक कुङगा डीमे र टाशी दुन्डुपले नेपाली र तिब्बत्तीयन गीतहरु प्रस्तुत् गरेका थिए । अतिथि कलाकारहरु लोकगायक सुमन बुढामगर र सुवर्ण शाक्यले पनि केही गीतहरु प्रस्तुत गरेर सहभागीहरुलाई मनोरञ्जन दिएका थिए ।

कलाकारहरुलाई प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)का अध्यक्ष लोक चेम्जोङको हातबाट प्रशंसा पत्र दिएका थिए ।

सोही अवसरमा कार्यक्रमका संयोजक तथा सञ्चालिका टोमा लामाले निर्देशन र अभिनय गरेका मुगुम(मुगाल) जातिको प्रथम चलचित्र ‘सोल्जी’ र दोस्रो चलचित्र ‘फेक’ का केही झलक (ट्रेलर) देखाईएका थिए । यी दुईटै चलचित्रहरु नेपाल सरकार, चलचित्र विकास बोर्डको अवार्डबाट सम्मानित भएको र अन्य विभिन्न अवार्डहरुबाट समेत सम्मानित भएको निर्देशक लामाले बताइन् । उनले चाँडै नै न्यूयोर्कमा आफ्नो चलचित्र प्रदर्शन गर्ने पनि जानकारी दिइन् ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १० : १४ बजे