८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

ज्याक्सन हाइटमा मनाइयो नारी दिवस, अमेरिकी जनगणनामा सहभागी हुन आग्रह



ज्याक्सन हाइट– ‘सबैको सरोकार, सबै समान’ भन्ने नाराका साथ ११० औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । नेपाली समुदायको हक हितमा कार्यरत सामाजिक संस्था अधिकारको १५ औं वार्षिकोत्सवका अवसरमा शनिबार ज्याक्सन हाइटस्थित पी एस ६९ स्कुलमा नारी दिवस मनाएको हो । दिवसमा अमेरिकी जनगणना (सेन्सस) २०२० मा सहभागी हुन सबै नेपाली तथा टिबेटेन नागरिकलाई विशेष आग्रह गरिएको छ ।

अधिकारले हरेक वर्ष झै ‍‍ बौद्ध धर्मावलम्बीहरुको महान पर्व ल्होसारको शुभकामना ब्यक्त गर्दै ल्होछारको महत्वको बारेमा जानकारी गराएको थियो । अधिकारकी कार्यकारी निर्देशक पबित्रा बेन्जामिनले ल्होछार तथा नारी दिवसको शुभकामना दिँदै भनिन् ‘यसपालीको जनगणनामा कोही पनि नछुटुन्, त्यसैले सम्पूर्ण नेपाली समुदाय र तिब्बती समुदायलाई जनगणनामा सहभागी हुन आग्रह गर्दछु ।’

कार्यक्रममा अधिकारकी अर्गनाइजिङ तथा एड्भोकेसी डाइरेक्टर नर्बदा क्षेत्री र निर्देशक बेन्जामिनले अधिकारले विगत देखि गरिरहेको कामको बारेमा जानकारी गराएका थिए । डाइरेक्टर क्षेत्रीले भनिन्, ‘अधिकारले अमेरिकामा बसोवास गरिरहेका आप्रवासीहरुलाई आफ्नो हकहितको बारेमा जानकारी दिने बिभिन्न तालिमहरु संचालन गर्दै आएको छ ।’ साथै अधिकारले कर्नेल युनिभर्सिटीसँगको सहकार्यमा न्यानी (बेबी सिटर) तालिम, सीपीआर तालिम, हेल्थ केयर, हेल्थ ईन्स्युरेन्स सेवा उपलब्ध गराउँदै आएको र हजार भन्दा बढी आप्रवासी नेपाली कामदारलाई विभिन्न तालिम उपलब्ध गराएको उनले जानकारी दिइन् ।

कामदारलाई संचालकले ज्याला नदिएको अवस्थामा कानूनी लडाई लडेर २३ कामदारलाई २,८५,००० अमेरिकी डलर ज्याला उपलब्ध गराइदिएको उनको भनाइ छ । साथै अधिकारले ईङलिस फर ईम्पावरमेन्ट कार्यक्रम अन्तर्गत अंग्रेजी भाषा कक्षाहरु संचालन गरिरहेको, टेम्पोररी प्राटेक्टेड स्ट्याटस टिपिएसको मुद्दामा वकालत गरेर टिपिएस एक्स्टेन्सन गर्न सहयोग गरेको, नेल सलुन कामदार तथा घरायसी कामदारको अधिकार, साथै नेपालीभाषी समुदायलाई निःशुल्क कानूनी सेवा उपलब्ध गराउँदै आएको लगायत काम गरिरहेको जानकारी दिइन् ।

डाइरेक्टर क्षेत्रीले अमेरिकामा नेपाली समुदायको संख्या र उपस्थिति देखाउन सकेमा सरकारबाट पाउने सेवा सुबिधा सजिलै उपलब्ध गराउन सकिने भएको उल्लेख गर्दै जनगणनामा आफ्नो समुदायको संख्या देखाउन अमेरिकी जनगणना २०२० मा भाग लिन जरुरी रहेकोमा जोड दिइन् ।

कार्यक्रममा उपस्थित वक्ताहरुले जनगणनाको महत्व दर्शाउँदै, जनगणनामा भाग लिन उपस्थित सबैलाई आव्हान गरे । नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत गणेशप्रसाद अधिकारीले वाणिज्यदूत गणेश अधिकारीले ल्होसार तथा नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै जनगणनामा आफ्नो विवरण दर्ता गर्न सबैलाई आग्रह गरे । न्यूयोर्क सिटीको क्विन्स बोरोका कार्यवाहक प्रेसिडेन्ट स्यारोन लीले, आफ्नो समुदायको उपस्थिति समुदायको महत्व र संख्या देखाउने भएकोले जनगणनामा सहभागी हुन जरुरी रहेको बताइन् । लीले अमेरिकामा अझै पनि गोरा र काला, गोरा र एशियन, मुस्लिम तथा अन्य धर्मावलम्बीबीच विभेदकारी राजनैतिक वातावरण रहेको भन्दै, आफ्नो हकहितको लागि नडराइकन लड्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै, न्यूयोर्क स्टेट ३९ डिस्ट्रिक्टकी एसेम्बली मेम्बर क्याटलिना क्रुजले नेल सलुनमा काम गर्ने कामदारका लागि न्यूयोर्क स्टेटले ‘नेल सलुन एकाउन्टीबिलिटी एक्ट’ ल्याउन लागेको जानकारी दिँदै नेल सलुनमा काम गर्ने कामदारको क्षेत्रमा अधिकारले गरेको कामको प्रशंसा गरे । उनले नेल सलुनमा काम गर्ने कामदारको क्षेत्रमा काम गरेको भन्दै अधिकारका पवित्रा दास लगायतका अन्य कामदारहरुले नेतृत्व लिएकोमा प्रशंसा गरिन् । उनले भनिन्, ‘अधिकार जस्ता संस्थाको लडाईका कारण न्यूयोर्कमा नेल सलुन कामदारको न्यूनतम ज्यालादर प्रति घण्टा १५ डलर बनाउन सफल भएका छौं ।’ उनले नेल सलुन एकाउन्टीबिलिटी एक्ट ल्याउनका लागि नेपाली समुदाय र नेल सलुन कामदारको संख्या देखाएर दबाबका लागि राजधानी अल्बानी जान सुझाइन् ।

कार्यक्रममा जनगणनाको महत्वको बारेमा चचा गर्दै न्यूयोर्कबाट कांग्रेस वुमन अलेक्सान्द्रीया ओकासियो कोर्टेज, न्यूयोर्क सिटी २५ डिस्ट्रिक्ट काउन्सिलम्यान डानियल ड्रोम, सेन्सस ब्युरोका डेपुटी डाइरेक्टर अमित भागा, कांग्रेस वुमन ग्रेस मेङ लगायतले अधिकारले प्रवासी कामदारहरुको हक अधिकारको क्षत्रमा गरेको कामको प्रशंसा गर्दै कार्यक्रममा बोलाएकोमा गर्व लागेको बताएका थिए । अधिकारले युवाहरुलाई प्रोत्साहन गर्ने भन्दै मेघा लामा, माया गुरुङ, प्रार्थना गुरुङ, पवित्रा दास, मिनु गोरखाली, सन्ध्या गुरुङ लगायतलाई कार्यक्रम सञ्चालन गर्ने अवसर प्रदान गरेको थियो ।

अधिकारका याङछेन डोल्मा र सन्ध्या गुरुङ प्रधानले ल्होसारको महत्वको बारेमा जानकारी दिँदै नारी दिवस तथा ल्होसारको शुभकामना व्यक्त गरेका थिए । आइ एम जेनेरेशन इक्वालटी : रिअलाइजिङ वुमन राइट्स नारा सहित विश्वभर ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १२ : ०४ बजे