१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कोरोना रोकथामका लागि एनअारएनएको एक करोड सहयोग



काठमाडौँ — गैरआवासीय नेपाली संघले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधिजन्य सामाग्री सहज गर्न गठित केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका छन् ।

संघको बैठकले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहतकोष संकलन समिति गठन गरेको छ छ । संघले उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ । विश्वभर छरिएका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्नेसमेत संघले तयारी गरेको छ ।

यसअघि संघले कोरोना भाइरस संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको थियो । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले सुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो । काेषमा अन्य संस्थाबा६ पनि सहयाेग जुट्ने क्रम जारी छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : ०६ बजे